२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


कालीगन्डकीको बाढीले काठेपुल बगायो


0
Shares

सुन्दरकुमार थकाली (इमेज)

मुस्ताङ, साउन २२ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ मा रहेको कागबेनीदेखि तिरी जोड्ने ५० मिटर लामो काठेपुल कालीगन्डकी नदीको बाढीले बगाएको छ ।

पानीको सतह बढेर कालीगन्डकी नदीले कटान थालेसँगै सोमबार राति पुल बगाएको हो ।

पूर्ववाणिज्यमन्त्री रोमी गौचन थकालीको १३ लाख रुपैयाँ आर्थिक सहयोगमा दुई वर्षअघि उक्त पुल बनाइएको थियो ।

काठेपुल नदीले बगाएपछि कागबेनी हुँदै छिमेकी जिल्ला डोल्पा, मुस्ताङ र उपल्लो मुस्ताङ जाने वैकल्पिक पदयात्री तथा तिरीगाउँका करिब १५ घरधुरीका स्थानीय प्रभावित भएका छन् ।

उर्लंदो कालीगन्डकीले नजिकैको गाउँ तिरीबाट ल्याइएको खानेपानी पाइप बगाउँदा कागबेनीमा खानेपानीको समस्यासमेत देखिएको छ ।

नदी कटानकै कारण पौराणिक धार्मिक महत्वको प्रसिद्ध श्राद्ध तथा तर्पणस्थल रहेको घर पनि जोखिममा परेको छ ।