
भक्तपुर । भक्तपुरको थिमीमा शनिबार वृहत एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
काठमाडौंको नयाँ बानेश्वरमा रहेको भरोसा अस्पतालको सहकार्यमा स्थानीय लाय्कु धिमे खलको आयोजनामा शिविर भएको हो ।
शिविरमा पाँच सय बढी बिरामीले उपचार गराएका थिए । डा. दिनेश चन्द्र पोख्रेल नेतृत्वको ३१ जनाको चिकित्सकीय टोलीले थिमीको आदर्श मावि लाय्कुमा भएको शिविरमा स्वास्थ्य सेवा दिएको हो ।
जनरल फिजिसियन, पेट तथा आन्द्रा, छाती तथा दम, मधुमेह तथा थाइराइड, हाडजोर्नी तथा नसा, जनरल सर्जरी, नाक, कान, घाँटी, स्त्री तथा प्रसुती, छाला तथा यौनरोग, बालरोग, मुत्र रोग, आँखा र दाँतका चिकित्सकले बिरामीको उपचार गरेका थिए ।
त्यस्तै अस्पतालले निःशुल्क औषधि वितरणसमेत गरेको अस्पतालका प्रशासकीय अधिकृत सूर्य आचार्यले जानकारी दिए ।
लाय्कु धिमे खलका अध्यक्ष राम बोस श्रेष्ठले यस्तो किसिमको शिविरले ठूलो राहत मिलेको जानकारी दिए ।
शिविरमा धेरैजसो फिजिसियन, हाडजोर्नी र आँखाका बिरामीहरु धेरै रहेका थिए । शिविरमा ३ वर्षका बालकदेखि ८८ वर्षसम्मका वृद्धले उपचार गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्