-ध्रुव भट्टराई/ ईमेज
विराटनगर । प्रदेश १ सरकार गठन भएको दुई वर्ष पूरा भएको छ । प्रतिवद्धता र आश्वासन उच्च भएपनि प्रदेशवासीले सोहीअनुसार कामको अनुभूति भने गर्न सकेका छन् ।
दुई तिहाइ बहुमतसहितको समर्थनमा प्रदेश १ मा शेरधन राईको नेतृत्वमा सरकार गठन भएको २ वर्ष पूरा भएको छ । कानुन अभाव, भौतिक संरचनाको शून्य अवस्था, कर्मचारीको अनुपलब्धतालगायतको पृष्ठभूमिमा गठन भएको प्रदेश सरकाले पहिलो १ वर्षमा खासै प्रगति गर्न सकेन ।
विशाल चुनौतीका बीच गठन भएको सरकारको पहिलो वर्षमै नागरिकले पनि खासै अपेक्षा पनि गरेका थिएनन् । तर पछिल्लो वर्षमा पनि सरकारको कार्यशैली र कामको गति उस्तै देखिएपछि भने जनस्तरमा प्रदेश सरकारको आलोचना हुन थालेको छ ।
तर मुख्यमन्त्री शेरधन राई भने सरकारले गरिरहेको काम उपलब्धिमूलक भएको दाबी गर्छन् । प्रदेश सरकारले अहिलेसम्मको कामलाई सकारात्मक दिशातिर गइरहेको दाबी गरे पनि सत्तारुढ दलकै कतिपय सांसदलाई सरकारको कार्यशैली र उपलब्धि चित्त बुझेको छैन ।
प्रदेश सरकारले दुई वर्षे अवधिमा प्रदेशमा आधार निर्माणदेखि प्रादेशिक विकासको लागि पनि निकै महत्वपूर्ण काम गरेको दाबी गरिरहेको छ ।
तर मुख्य प्रतिपक्षको नजरमा भने मुख्यमन्त्री राई नेतृत्वको सरकारले कुनै पनि क्षेत्रमा उत्साहजनक काम गर्न सकेको छैन ।
आर्थिक,सामाजिक र राजनीतिक पक्षबाट हेर्दा पनि सरकारको उपलब्धि निराशाजनक देखिन्छ ।
उत्पादन, उत्पादकत्व वृद्धि गर्ने, रोजगारी सृजना गर्नेलगायतका कामलाई सरकारले आत्मसात गर्न नसकेको बुद्धिजीवीको बुझाइ छ ।
सरकारले केही पनि उपलब्धि हासिल गर्न नसकेको भने होइन तर जुन गति र दिशामा काम अगाडि बढेको छ त्यो अपर्याप्त रहेको यथार्थलाई भने मनन गर्नुपर्छ ।








प्रतिक्रिया दिनुहोस्