आहा रारा गोल्डकपः आज आर्मी र थ्रीस्टार भिड्ने, दुवै टिम जित्नैपर्ने दवावमा « Imagekhabar – Online News Portal of Nepal


आहा रारा गोल्डकपः आज आर्मी र थ्रीस्टार भिड्ने, दुवै टिम जित्नैपर्ने दवावमा


130
Shares

पोखरा । पोखरामा जारी १२औं आहा रारा गोल्डकप फुटबल अन्तर्गत आज त्रिभुवन आर्मी फुटबल क्लब र थ्री स्टार क्लबबीच खेल हुनेछ । जारी प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा दुवै टिम जितको खोजीमा रहेका छन् । मछिन्द्रले फाइनल प्रवेशका निम्ति भोलि बुधबार एपिएफसँग खेल्नेछ ।

यसअघि हिजो भएको खेलमा साविक विजेता संकटा क्लबमाथि ४–१ को सानदार जित निकाल्दै मछिन्द्र सेमिफाइनलमा प्रवेश गरेको हो । तेस्रो क्वार्टरफाइनलमा संकटालाई ४–१ ले पराजित गर्दै मछिन्द्रले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

मछिन्द्रको जितमा मेसुके ओलुमोउले दुई तथा उत्सव राई र अभिषेक गुरुङले समान एक गोल गरे । संकटाका गणेश हमालले एक गोल फर्काए ।

यसअघि गत शनिबार पहिलो क्वाटरफाइनलमा एपिएफले अमेरिकी टोली भुटनीज युथ स्पोर्ट्स क्लब (बिवाइएससी) लाई ३–१ ले पराजित गरेको थियो । आइतबार मनाङ मर्स्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो ।

प्रतियोगितामा ए डिभिजनका ८ सहित १० टोलीले सहभागिता जनाएका छन् ।

आहा गोल्डकपको विजेताले उपाधिसहित १० लाख १ हजार रुपैयाँ र दोस्रो हुनेले टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगितामा १ करोड ६ लाख ४८ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।