नेपालमा समेत युवापुस्तामाझ लोकप्रिय बन्दै ‘भ्यालेन्टाइन डे’ (भिडियो) - Image Khabar
Everest Bank

नेपालमा समेत युवापुस्तामाझ लोकप्रिय बन्दै ‘भ्यालेन्टाइन डे’ (भिडियो)

कोमल शेरचन र विशाल तामाङ (इमेज)

काठमाडौं, फागुन २ । फेब्रुअरी १४ अर्थात् पश्चिमा संस्कृतिअनुसार मनाइने प्रणय दिवस । विश्वमा यो दिन अन्तर्राष्ट्रिय पुस्तक उपहार आदान–प्रदान दिवसका रुपमा समेत मनाइन्छ ।

तर, आफ्नो मौलिक संस्कृति र मान्यताबाट बिचचित भइरहेको एउटा पुस्ताका निम्ति प्रणय दिवस नै महत्वपूर्ण बन्न थालेको छ ।

फेब्रुअरी १४ अर्थात् प्रणय दिवस । प्रेमको प्रतीक मानिले रातो गुलाफको फूल, कार्ड तथा उपहार आदान–प्रदान गरेर प्रेमी–प्रेमिकाले यो दिनलाई पृथक ढंगले मनाउने प्रचलन बढेको छ ।

प्रेमजोडीले एक–अर्कालाई उपहार दिएर मनाइने प्रणय दिवसको प्रभाव नेपालमा समेत विस्तारै बढ्दो छ ।

व्यापारीले यही दिनलाई लक्षित गरेर यो वर्ष पनि एक करोड २५ लाखभन्दा बढी मूल्यको गुलाफको फूल आयात गरेका छन् ।

बजारमा उपहार तथा फूल किन्न तम्सिने युवाहरु भने अझै खुल्न हच्किन्छन् ।

गत वर्षको तुलनामा यो वर्ष गुलाफको माग बढेको छ । भारतको नयाँदिल्ली, ब्याङ्लोर, कलकत्तालगायतका सहरबाट एक करोडभन्दा बढी रुपैयाँको गुलाफको आयात भएको छ । तर, माग बढेपनि स्थानीय बजारमा फूलको मूल्य नबढेको व्यापारीहरु बताउँछन् ।

नेपालमा अहिले आफ्नो परम्परागत् मूल्य–मान्यता र धर्म, संस्कृतिमाथि चौतर्फी अतिक्रमण भइरहेको बेला विभिन्न विद्यालयमा समेत प्रणय दिवसका नाममा छुट्टै कार्यक्रम हुन थालेका छन् ।

प्रणय दिवसको इतिहास तत्कालीन रोमन पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानसँग जोडिएको छ ।

रोम सम्राटले युवाहरु प्रेम र विवाहतिर लागेपछि सैनिक सेवा प्रभावित हुन्छन् भन्ने मान्यताअनुसार यसलाई प्रतिबन्ध लगाएको तर भ्यालेन्टानले सम्राटको राजाज्ञाविपरीत प्रेम र विवाहका लागि प्रेरित गर्दै सार्वजनिकस्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरेकै कारण मृत्युदण्ड दिइएको दिनको सम्झनामा यो दिवस मनाईंदै आएको छ ।

अहिले संस्कृति आदान–प्रदानका नाममा प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा मनाइने भ्यालेन्टाइन डे नेपालमा समेत युवापुस्तामाझ लोकप्रिय बन्न थालेको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्