Logo ७ कार्तिक २०८२, शुक्रबार | Fri Oct 24 2025


भर्चुअल करेन्सी र नेटवर्किङ व्यवसाय नगर्न राष्ट्र बैंकको चेतावनी


4.1k
Shares

काठमाडौं, माघ ९ । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी तथा नेटवर्किङ व्यवसायलाई थप कडाई गरेको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले सूचना जारी गर्दै यस्ता क्रियाकलापमा नलाग्न सचेत गरेको हो ।

पछिल्लो समय कतिपय व्यक्तिले नेपालभित्र गैरकानुनी रहेका यस्ता व्यवसाय तथा कारोबारमा आबद्ध हुन प्रोत्साहन गरेको पाइएको भन्दै राष्ट्र बैंकले सूचना जारी गर्दै यस्ता कारोबारमा लाग्नेमाथि कारबाही गर्ने जनाएको छ ।

केन्द्रीय बैंकले उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी, क्रिप्टो करेन्सीहरुको कारोबार तथा त्यससँग सम्बन्धित हाईपर फण्डजस्ता कोषमा लगानी जस्ता अफरमा सचेत रहन अपिल गरेको छ । उसले जोसिकल क्राउड वन, सोलीम्याक्स ग्लोवलजस्ता पिरामिडमा आधारित नेटवर्किङमा आवद्ध हुन प्रोत्साहन गर्ने गराउने नगर्न सचेत गराएको छ ।

बैंकले भनेको छ– ‘विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी वा क्रिप्टो करेन्सीले कानुनी मान्यता नपाएको सन्दर्भमा यस्ता गैरकानूनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजी पलायन हुनेछ ।’

त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिक समेतले त्यस्तो कार्य गरे गराएको पाइएमा प्रचलित कानूनबमोजिम कारवाही हुने राष्ट्र बैंकले चेतावनी दिएको छ । पछिल्लो समय नेपालीले विदेशीमा बस्ने आफन्तमार्फत क्रिप्टो लगायतका भुर्चअल करेन्सीमा उल्लेख्य मात्रामा लगानी गर्दै आएको र यसरी नेपालबाट ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिंदै गरेको बताइन्छ ।