२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


खाद्यान्नको मूल्य वृद्धिमा विचौलियालाई संरक्षण गर्ने दोषी


351
Shares

काठमाडौं, माघ ८ । पछिल्लो समय नेपालमा दैनिक उपभोग्य वस्तु नुनदेखि सुनसम्मको मूल्य आकासिएको छ । दैनिक भान्सामा प्रयोग हुने चामल, दाल, तरकारी, गेडागुडी, सागसब्जी लगायतका मूल्य गत बर्षको तुलनामा दोब्बरले बृद्धि हुँदा उपभोक्तालगायत दैनिक ज्यालादारी गरेर बिहान बेलुकाको छाक टार्ने उपभोक्ता भने मारमा परेका छन् ।

पछिल्लो समय दैनिक भान्सामा प्रयोग हुने आलु, प्याज, गोलभेडा, हरियो केराउ लगायत फलफूल, गेडागुडी, दाललगायतमा गत बर्षभन्दा ३० देखि ४० प्रतिशतले बृद्धि भएको छ । यसरी मूल्य बढ्दा दैनिक गुजारा टार्न समस्या भएको उपभोक्ताको गुनासो छ । नेपालमा प्रत्येक बर्ष हुने मूल्य बृद्धिले आम उपभोत्ता मारमा परेका छन् । बेरोजगार बढ्दै जादा र मूल्य बृद्धि हुदै गर्दा सोही अनुपातमा आम्दानी हुन नसक्दा महंगीको मार आम उपभोक्ताले बेहोर्नु परेको छ ।

गत बर्ष प्रतिलिटर २ सय ५० देखि २ सय ८० जतिमा पाइने तोरीको तेल समेत हाल उच्च मूल्य बृद्धिले ३ सय ८० सम्म पुगेको छ । त्यसैगरी बजारमा प्याज, गोलभेडाको होलसेल मूल्य अधिकतम ६० रहेको छ भने लसुन प्रतिकेजी २ सयसम्म रहँदा प्रतिकेजी आलु भने कालीमाटी बजारमा ४० रुपैयाँसम्म रहेको छ । पसलैपिछे मूल्य फरक र महंगीले उपभोक्तालाई भान्साको खर्च धान्न नसक्ने बनाइरहेको अवस्थामा व्यापारी भने भारतीय तरकारीमा निर्भर भएका कारण त्यसको प्रत्यक्ष प्रभाव नेपालमा परेको बताउछन् ।

पछिल्लो समय लकडाउनको हल्लासँगै मौकाको फाइदा व्यवसायीले उठाएका छन् । बजारमा यतिखेर मूल्य बृद्धि मात्र नभई अखाद्य वस्तुको विक्री र कालोबजारी पनि बढिरहेको छ । यसको कारण भने विचौलिया र तिनलाई संरक्षण गर्ने राजनीतिक दल मूख्य कारण भएको उपभोक्ताकर्मी प्रेमलाल महर्जनबताउनुहुन्छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०७७ मंसिरको तुलनामा २०७८ मंसिरमा तेलमा २८ दशमलव ५२ प्रतिशत, दाल तथा गेडागुडीमा ११ दशमलव ७९ प्रतिशतले मूल्य बृद्धि भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ६.५ प्रतिशत भित्रै मुल्यवृद्धि सिमित गर्ने लक्ष्य लिएको थियो । तर मंसिर मसान्तसम्मा मुल्यवृद्धि लक्ष्य भन्दा अर्थात ७.११ प्रतिशत पुगेको छ । बजारमा वस्तुको मुल्य बढ्दा उपभोक्ताको ढाड सेकिईरहेको छ । तर उपभोग्य वस्तुको मूल्य बृद्धि अत्याधिक हुदा पनि सरोकारवाला निकाय भने मौन रहेका छन् ।