Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


‘निजी मेडिकल कलेजबाट विद्यार्थीमाथि दादागिरी भइरहेको छ, तत्काल कारबाही गर्नुपर्छ’


702
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निजी मेडिकल कलेजहरूले विद्यार्थीमाथि दादागिरी देखाइरहेको बताउनुभएको छ ।

शुक्रबार मेडिकल कलेजपीडित विद्यार्थी र विद्यार्थी संगठनका नेताहरूसँगको छलफलमा मन्त्री पौडेलले निजी मेडिहल कलेजले दादागिरी देखाएको भन्दै तत्काल कारबाहीका लागि गृहमन्त्री बालकृष्ण खाँण समक्ष आग्रह गर्नुभयो ।

मन्त्री पौडेलले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएको समस्या तत्काल समाधान नभए निजी मेडिकल कलेजमा विद्यार्थीहरूले पढ्न पाउने अवस्था गुम्ने चेतावनी दिनुभयो ।

‘कलेज संचालकहरूको भाषा, शैली र तरिकाका कारण यस्तो स्थिति सिर्जना भयो, विद्यार्थीसँग छात्रावास र अनेक शुल्कको नाममा चिकित्सा शिक्षा आयोगको ऐन विपरीत शुल्क उठाइरहेका छन्,’ उहाँले भन्नुभयो, ‘उनीहरूले मेडिकल कलेज पढ्ने विद्यार्थीमाथि दादागिरी देखाइरहेका छन्, तत्काल कारबाही गर्नुपर्छ, अन्यथा कुनै पनि विद्यार्थीले मेडिकल कलेज पढ्नसक्ने अवस्था हुँदैन ।’

छलफलमा गृहमन्त्री खाँणसँगै विद्यार्थी ंसंघसंगठनका नेताहरू पनि उपस्थित थिए । उनीहरूले विद्यार्थीमाथि दमन गर्ने र ठगी गर्ने निजी मेडिकल कलेजहरूलाई तत्काल कारवाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।