१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


नेपाली सेनाको बृहत् प्रदर्शनी


0
Shares

गृष्मा राजभण्डारी (इमेज)

काठमाडौं, फागुन १ । नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवसका सन्दर्भमा तीनदिने फोटो प्रदर्शनी आयोजना गरेको छ ।

प्रदर्शनीमा विश्वयुद्धमा सहभागी नेपाली सेनाको विरताको गाथादेखि विकास निर्माणमा सेनाको योगदानसम्बन्धी तस्वीर राखिएको छ ।

तत्कालीन राजा सेनाको परमाधिपतिको भूमिकामा रहँदाका दुर्लभ तस्वीरसहित १०० भन्दा बढी तस्वीर सेनाले सर्वसाधारणले अवलोकन गर्न सक्ने गरी प्रदर्शनीमा राखेको हो ।

नेपाली सेनाले विभिन्न कालखण्डमा प्रयोगमा ल्याएका हतियार, विपत्तिका बेला राहत तथा उद्धारमा सेनाले निर्वाह गरेको भूमिका झल्कने तस्वीरहरु बिहान १० बजेदेखि बेलुकी १० बजेसम्म सर्वसाधारणले निःशुल्क अवलोकन गर्न पाउने छन् ।

नेपाली सेनाले विगत तीन वर्षयता महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा फोटो प्रदर्शनी गर्दै आएको छ ।

निकै दुर्लभ तस्वीरहरु नेपाली सेनाको विगतदेखि वर्तमानसम्मको आरोह–अवरोह विश्लेषण र अध्यनका लागि महत्वपूर्ण हुने र नागरिकसँगको सम्बन्ध प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ ।

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिनेक्रममा विभिन्न द्वन्द्वग्रस्त मुलुकमा नेपाली सेनाका अधिकारीले सहादत प्राप्त गर्दा त्यसले परिवारमा पार्ने बज्रपातको प्रतिविम्ब सेनाको फोटो प्रदर्शनीमा झल्किन्छ ।

शान्ति मिसनमा रहँदा ज्यान गुमाएका कबिन्द्रजंग थापाको शवअगाडि उनका परिवारका सदस्यले रुवावासी गरिरहेको तस्वीरले जो कोहीको मन छुन्छ ।

संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव बान कि मुनलेसमेत कबिन्द्रजंग थापाको निधनपछि योगदानको कदर गरेका थिए ।

तत्कालीन राजा वीरेन्द्र नारायणहिटी दरबारमा घोड सवार हुँदाको ऐतिहासिक तस्वीर प्रदर्शनीको अर्को आकर्षण हो ।

सँगसँगै फोटो प्रदर्शनीमा नेपाली सेनाले इतिहासदेखि अहिलेसम्म प्रयोगमा ल्याएका पोसाक, टुँडिखेलमुनिको तोपखाना, बम डिस्पोजल टोलीलगायतका थुप्रै महत्वपूर्ण तस्वीर तीन दिनसम्म अवलोकन गर्न पाइने छ ।

अंग्रेजहरुले प्रयोग गर्ने नमुनाको तोपलगायत युनिफर्म मेमोरियल पार्क, सैनिक संग्रहालय, आर्टीलरी, घोडचढी, हवाई सुरक्षा निर्देशनालय, जंगल युद्धकला, विशेष फौज, राष्ट्रिय सेवा दल, र सैनिक ब्याण्डसमेतको महत्वपूर्ण तस्वीर सैनिक मञ्च टुँडिखेलमा फागुन ३ गतेसम्म अवलोकन गर्न पाइने छ ।