
काठमाडौं । पदको उन्मादले राजनीतिक नेतृत्व कतिसम्म असहिष्णु हुन्छ भन्ने उदाहरण प्रस्तुत गरेकी छन् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले । बुधबार गौरमा उनी सहभागी कार्यक्रममा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले कालो झन्डा देखाए, आक्रोशित मन्त्री यादवले राउतको नामै लिएर धम्की दिइन्, ‘यो इतिहास बोकेको जिल्ला हो । राइस मिल घटना याद गर्नू । टकराउन खोज्यौ भने तिम्रो त्यही हालत हुनेछ, जुन गौरको राइस मिलमा भएको थियो ।’
गौरको राइस मिल त्यही स्थान हो जहाँ १५ वर्षअघि २०६३ चैत ७ मा तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताले २८ जना माओवादी कार्यकर्तालाई त्रूरतापूर्वक हत्या गरेका थिए । भाला, खुकुरी, ढुंगा, इँटा र गोली प्रहारबाट मारिएका उनीहरूमध्ये कतिपय महिला कार्यकर्तामाथि सामूहिक बलात्कारसमेत भएको समाचार आएका थिए । घटना सुनियोजित भएको भन्दै नेता उपेन्द्र यादव, बबन सिंहलगायत विरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाउन प्रहरीमा उजुरी परेको थियो । तर नरसंहारको गम्भीर अनुसन्धान अहिलेसम्म भएको छैन ।
पहिलो मधेस आन्दोलनका पहिलो सहिद रमेश महतोको स्मृतिमा समाजवादी युवा संघ रौतहटले बुधबार ‘बलिदान दिवस’ आयोजना गरेको थियो । कार्यक्रममा मन्त्री यादव आउने थाहा पाएपछि जनमत पार्टीका कार्यकर्ता हातमा फराठा (बाँसको लाठी) बोकेर सदरमुकाम गौरमा भेला भएका थिए । कालो झन्डा देखाउने उनीहरूको योजनाबीच स्थानीय प्रशासनले मन्त्री यादवलाई रुट बदल्दै कार्यक्रमस्थलमा पुर्याएको थियो । जहाँ प्रमुख अतिथिको आसनबाट उनले नरसंहार दोहोर्याउने धम्की दिइन् ।
प्रतिक्रिया दिनुहोस्