
प्रज्ञा तिमल्सिना र राजेन्द्र नापित (इमेज)
भक्तपुर, माघ २९ । चीन, वुहानमा रहेका नेपालीहरुलाई नेपाल ल्याएर ‘क्वारेन्टाइन’मा राख्न भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा धमाधम काम भइरहेको छ ।
सरकारले आगामी फागुन ३ गते १८५ नेपालीलाई नेपाल ल्याउने निर्णय गरेसँगै क्वारेन्टाइनस्थललाई तयार गर्न लागिएको हो ।
खरिपाटीस्थित तालिम केन्द्रका चारओटा भवनमा चीनबाट ल्याउने नेपाली नागरिकहरुलाई राखिने छ । यी भवनमा १९९ ओटा बेड राखिएको छ । जहाँ महिलाका लागि २५ बेडको छुट्टै भवन छुट्टाइएको छ ।
चिकित्सक टोली बस्ने, खाने व्यवस्था पनि मिलाइएको छ ।
सुरुमा स्थानीयले विरोध गरे पनि अहिले उनीहरु पनि सहमतिमा आइसकेका छन् ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले स्थानीयको पनि दिनहुँ स्वास्थ्य परीक्षण गर्ने र संक्रमण देखिए त्यसको सबै जिम्मेवारी लिने सम्झौता गरेपछि स्थानीय सहमतिमा आएका हुन् ।
स्थानीय वासिन्दा प्रकाश लामिछानेले जिल्ला प्रशासन कार्यालयसँगको सहमतिपछि आन्दोलन रोकिएको बताए ।
यद्यपि, चीनबाट फर्काइने नेपालीहरु ‘कोरोनाभाइरस’ संक्रमित होइनन् । तर, उनीहरुलाई ल्याएर बस्तीनजिकै राख्दा संक्रमण हुने त होइन भन्ने त्रासमा स्थानीयहरु रहेका छन् ।
सरकार र प्रशासनको आश्वासनले कतिपय अझैपनि ढुक्क हुन सकेका छैनन् ।
त्यसो त स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वस्थ अवस्थाका नेपालीहरुलाई नै स्वदेश ल्याउन लागेको भन्दै उनीहरुलाई नेपाल ल्याएर १४ दिनसम्म नियमित परीक्षण गर्न सहज होस् भनेर क्वारेन्टाइनमा राख्न लागिएको बताएका छन् ।
चीनको रोगग्रस्त सहरबाट नेपालीहरुलाई फिर्ता ल्याउनु जरुरी छ । तर, उनीहरुलाई स्वदेश फिर्ता ल्याउँदा अपनाउनुपर्ने सावधानीमा पनि ध्यान दिनु उत्तिकै जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्