लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो : सञ्चारमन्त्री कार्की « Imagekhabar – Online News Portal of Nepal


लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो : सञ्चारमन्त्री कार्की


442
Shares

काठमाडौं, माघ २ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि रहेको तथ्यमा सरकार स्पष्ट रहेको बताउनुभएको छ ।

आइतबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कार्कीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भुभाग रहेको तथ्यमा सरकार दृढ र स्पष्ट रहेको बताउनुभएको हो ।

सरकारले भारतलाई नेपाली भुभागमा एक पक्षिय सडक निर्माण तथा बिस्तार रोक्न आग्रह गर्दै आएको उहाँले बताउनुभयो । उहाँले दुई देश बिचको सिमा समस्यालाई ऐतिहासिक सन्धि, सम्झौता, तथ्य तथा नक्सा र प्रमाणको आधारमा कुटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘महाकाली नदीका पूर्व लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको अभिन्न भूभाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट छ । नेपाल सरकारले भारत सरकारलाई नेपाली भूभाग भएर जाने कुनै पनि किसिमको एकपक्षीय सडक निर्माण, बिस्तार, रोक्न आग्रह गर्दै आएको छ । नेपाल भारतको बीच रही आएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार दुई देशको सीमा समस्याको समाधान ऐतिहासिक सन्धि, सम्झौता, तथ्य, नक्शा र प्रमाणको आधारमा कुटनैतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिवद्ध रही आएको छ ।’

उहाँले नेपाल र भारतविच रहेको मैत्रीपूर्ण सम्बन्धको मर्म र भावना अनुसार सिमा समस्या हल हुनुपर्नेमा जोड दिनुभयो ।