
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा कोरोनाको लक्षणसँग मिल्ने रुघा, खोकी र अत्यधिक ज्वरोले गाउँले बिरामी परेका छन् ।
कोरोनाको लक्षण मात्र भएको र शंका गर्ने आधार नरहेको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईले बताए ।
जुगल गाउँपालिकाको गुम्बामा स्वास्थ्यकर्मी, औषधिहरु र माक्स खरीद गरी पठाइसकेको चापागाईले जानकारी दिए ।
कोरोना जस्तै लक्षण भएपनि यहाँका मानिसको चीनसँग आउजाउ नभएकोले कोरोना नै हो भन्ने आधार नरहेको उनको भनाई छ ।
गत विहीबारबाट यस्तो लक्षण देखिन थालेपछि बिरामी हुनेको संख्या ८४ पुगेको गाउपालिका अध्यक्ष होम नारायण श्रेष्ठले बताए ।
विरामी परेका ८४ जनाको अवस्था भने सामान्य रहेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले रोग पहिचानका लागि विशेषज्ञ टोली पठाउन प्रदेश ३ सामाजिक विकास मन्त्रालय, प्रशासन र स्वास्थ्य कार्यालयमा अनुरोधसहित पत्र पठाएको जानकारी दिए ।
संक्रमण देखिएकाहरुलाई अरु व्यक्तिसँग सम्पर्कमा नआउन र छुट्टै बस्न स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्