
सुर्खेत । कर्णालीको राजधानी वीरेन्द्रनगर भूकम्पको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ। एक वर्ष लगाएर गरिएको यहाँको भौगर्भिक अध्ययनले यस्तो देखाएको हो। भूकम्प आएको खण्डमा वीरेन्द्रनगरमा बाढी र पहिरोसमेत आउने र त्यसले थप क्षति पुग्ने उक्त अध्ययनको निस्कर्ष छ।
वीरेन्द्रनगर नगरपालिकाले तयार नेपाल नामक संस्थासँगको सहकार्यमा यो अध्ययन गरेको हो। त्यसक्रममा जियो इन्जिनियरिङ कन्सल्टेन्टले एकवर्ष लगाएर वीरेन्द्रनगरमा अध्ययन गरेको थियो। सोही अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै अध्ययनकर्ताले वीरेन्द्रनगर भूकम्पको उच्च जोखिममा रहेको बताएका हुन्। भूकम्पले मुख्य बजार क्षेत्र रहेको नगरको वडा नम्बर ६ मा धैरे भवनहरुमा क्षति गर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ।
नगरको भौगोलिक बनावट र भवन निर्माण संहिता कार्यान्वयनको कमजोर अवस्थाले पनि वीरेन्द्रनगरमा भूकम्पको जोखिम बढी देखिएको हो। नगरका वडा नं. २, ३, ९ र १० बाढीको उच्च जोखिममा रहेको उक्त अध्ययनले औंल्याएको छ। साथै बहुप्रकोप (बाढी, पहिरो र भूकम्प) को उच्च जोखिममा रहेको क्षेत्रमा अब भवन लगायतका भौतिक संरचनाको निर्माणमा कमी ल्याउन विज्ञले सुझाव दिएका छन्। अध्ययनमा संलग्न कन्सल्टेन्टका टिमलिडर डा. दिपक चौलागाईले नगरको उत्तरी क्षेत्रमा पहिरो र दक्षिणी क्षेत्रमा बाढीका साथै भूकम्पको उच्च जोखिम रहेको पाइएको बताए।
उनले भने,‘नगरका ९, १३, १४, १५ र १६ नम्बर वडामा पहिरोको उच्च जोखिम छ, फोरलेन सडकभन्दा दक्षिणी क्षेत्रमा कालोमाटो बढी हुनाले भूकम्पको उच्च जोखिम छ। भूकम्प आएको खण्डमा पहिरो र बाढी पनि आउने जोखिम रहेकाले क्षति धेरै हुनसक्छ।’ यसकारण पनि सम्भावित नोक्सानलाई न्यूनिकरण गर्न अहिलेबाटै नगरपालिकाले भौतिक पूर्वाधार निर्माणको काममा कमी ल्याउनुपर्ने उनले सुझाव दिए। उनका अनुसार फोरलेन सडकभन्दा उत्तरी क्षेत्रमा भने केही चट्टानयुक्त माटो हुँदा भूकम्पको जोखिम कम रहेको पाइएको छ।
प्रतिक्रिया दिनुहोस्