पोखरामा आजदेखि कोरोनाको खोप कार्ड अनिवार्य « Image Khabar


पोखरामा आजदेखि कोरोनाको खोप कार्ड अनिवार्य


728
Shares

पोखरा । कास्कीमा आजदेखि सार्वजनिक सेवा लिन कोभिड विरुद्धको खोप लगाएको प्रमाण देखाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरी खोप कार्ड अनिवार्य गरेको हो ।

गृह मन्त्रालयको निर्देशन तथा जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको २६ गतेको बैठकले जिल्लाभरी खोप कार्ड अनिवार्य गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चायले जानकारी दिनुभयो ।

आदेशले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी जम्मा हुन र राजनीतिक, सामाजिक तथा सांस्कृतिकलगायतका भेला, महोत्सव, सभा सम्मेलन गर्न रोक लगाएको छ । सार्वजनिक सवारी साधनमा यात्रुले अनिवार्य रुपमा मास्क र भौतिक दूरी कायम गर्नुपर्ने छ ।

हवाई जहाजबाट यात्रा गर्नुपूर्व कोभिड नेगेटिभ भएको खोप कार्ड देखाउनुपर्ने छ । औषधीलगायतका अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृतिम अभाव सृजना गर्ने, मूल्य वृद्धि गर्ने, लुकाउने र प्रशासनको आदेश पालनान नगरेमा कानुन बमोजिम कारबाही जनाइएको छ ।

जिल्लामा आधारभूत तथा माध्यमिक विद्यालयको पठनपाठन रोकिएको छ । सेमेस्टर र वार्षिक परीक्षा तथा अन्य परीक्षाको हकमा स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरी सञ्चालन गर्न भने अनुमति दिएको छ ।