दुई ठूला करदाता कार्यालयले उठाए १९ अर्ब भन्दा बढी राजस्व « Image Khabar


दुई ठूला करदाता कार्यालयले उठाए १९ अर्ब भन्दा बढी राजस्व


1.599k
Shares

काठमाडौं । ठूला करदाता कार्यालयले पुस महिनामा ३४ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन गरेका छन् । कार्यालयलाई पुस महिनामा ४३ अर्ब रुपैयाँ कर संकलनको लक्ष्य दिइएको थियो । कार्यालयका प्रमुख कर प्रशासक शिवलाल तिवारीका अनुसार बिहीबार १४ अर्ब रुपैयाँ र शुक्रबार ५ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन भएको छ । ठूला करदाता कार्यालयमा वार्षिक १ अर्ब रुपैयाँ भन्दाबढी रकमको कारोबार गर्ने कम्पनीले कर बुझाउने गर्छन् ।

नेपालमा हाल वार्षिक १ अर्ब रुपैयाँभन्दा धेरै रकमको कारोबार गर्ने कम्पनी ५ सय ५५ वटा रहेका छन् । यो वर्ष नेपाल आयल निगम र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलमेन्ट कम्पनीले आयकरको किस्ता नबुझाएको करदाता कार्यालयले जनाएको छ ।

होटल र रेष्टुराँ क्षेत्र चलायमान भए पनि राजस्व तिर्ने अवस्थामा नपुगेकाले पनि कर संकलन लक्ष्यअनुसार नभएको आन्तरिक राजस्व विभागको भनाइ छ । पुस मसान्तमा आयकरको ४० प्रतिशत, चैत मसान्तमा ३० प्रतिशत र असार मसान्तमा पनि ३० प्रतिशत बुझाउनु पर्ने कानूनी व्यवस्था छ ।

कम्पनीले वर्षभरमा हुने अनुमानित आय विवरण तयार गरी वार्षिक नाफाको अनुमानित रकम निकाल्ने र सोही अनुमानित नाफामा लाग्ने आयकर दायित्वको ४० प्रतिशत रकम पुस मसान्तमा बुझाउने गर्छ ।