Logo ११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026


सरकार निर्वाचनबाट पन्छिन खोजेको छ : प्रदीप ज्ञवाली


104
Shares

काठमाडौं, पुस ३० । नेकपा (एमाले)का उपमहासचिव प्रदीप पकुमार ज्ञवालीले सरकार स्थानीय तहको निर्वाचनबाट पन्छिन खोजेको आरोप लगाउनु भएको छ ।

काठमाडौंमा भएको साक्षात्कारमा ज्ञवालीले स्थानीय तहको निर्वाचनको सम्बन्धमा निर्वाचन आयोगले गरेको सिफारिस अनुसार सरकारले कुनै निर्णय नगरेको जिकिर गर्नुभयो । उहाँले सरकारले स्थानीय तहको निर्वाचनलाई पन्छाउन खोजे एमालेले त्यस्तो हुन नदिने चेतवनी दिनुभयो ।

सरकारले ललिता निवासको सरकारी जग्गा किर्ते प्रकरणका दोषीहरुलाई उम्काउने प्रपञ्च गरेको आरोप लगाउँदै ज्ञवालीले सीआईबीले दुई वर्ष लगाएर गरेको अनुसन्धान सरकारी वकिलको कार्यालयले फिर्ता गरेर भ्रष्टाचारीहरुलाई ढाकछोप गर्न खोजेको जिकिर गर्नुभयो ।

लिपुलेकमा भारतले सडक निर्माण गरिरहेको सम्बन्धमा सरकारले भारतीय पक्षसँग कुरा गर्नुपर्ने भन्दै उहाँले नेपालको भूभागमा भारतले बलमिच्याइँ गरेको विषयमा सरकार बोल्नुपर्ने बताउनु भयो । देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुने ज्ञवालीको चेतावनी थियो ।

संसद सुचारु गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सकारात्मक छलफल भएको भन्दै आगामी दिनमा समस्या समाधान हुने ज्ञवालीले उहाँले व्यक्त गर्नुभयो ।