सामुदायिक वन उपभोक्ता महासंघले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम « Image Khabar


सामुदायिक वन उपभोक्ता महासंघले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम


208
Shares

काठमाडौं, पुस ३० । सामुदायिक वन उपभोक्ता महासंघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

संघीय वन नियमावलीको मस्यौदा र प्रदेश वन ऐनहरुमा समावेश गरिएका सामुदायिक वन विरोधी व्यवस्था हटाउन महासंघले माग गरेको हो ।

सरकारले वन नियमावलीको मस्यौदामा वन ऐन २०७६ विपरित र सामुदायिक वनको अधिकारमा असर पर्ने गरी व्यवस्था गरिएको भन्दै आन्दोलनरत सामुदायिक वन उपभोक्ता महासंघले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । केन्द्र र प्रदेश सरकारले सामुदायिक वन क्षेत्रमा विभिन्न नामका संरक्षित क्षेत्रहरुको घोषणा र विस्तार गरी सामुदायिक वनलाई असर पारेको महासंघको ठहर छ ।

त्यसैगरी सामुदायिक वनमा तेहेरो कर लगाउने र वन पैदावारको सदुपयोगमा रोक लगाउने गरिएको महासंघले जनाएको छ । वन नियमावली र प्रदेश ऐनहरुमा भएका सामुदायिक वन विरोधी व्यवस्था हटाउन, संरक्षित क्षेत्र विस्तार कार्य तत्काल रोक्न र तेहेरो कर खारेज गराउन माग गर्दै आन्दोलन गर्दै आएको भएपनि सरकारले माग पूरा नगरेकाले दोस्रो चरणको आन्दोलन गर्नुपरेको महासंघले जनाएको छ । वन पैदावारको उपयोगमा लगाइएको प्रतिबन्ध हटाउन पनि महासंघको माग छ ।

आन्दोलनको कार्यक्रम माघ महिनाभरी सञ्चालन हुने महासंघले जनाएको छ । सामुदायिक वन हस्तक्षेपविरुद्ध हस्ताक्षर संकलन गरी सबै स्थानीय तह, डिभिजन वन कार्यालय, सवडिभिजन वन कार्यालय र प्रदेश वन मन्त्रालयमा बुझाउने कार्यक्रम राखिएको छ । त्यस्तै वन तथा भू–संरक्षण विभाग, प्रदेश वन मन्त्रालयमा थोरै संख्यामा भेला भएर प्रतिदिन ३ घण्टा धर्ना दिने, सामुदायिक वन अधिकारको माग तथा नाराहरु सहितका कालो व्यानर प्रदर्शन गर्ने महासंघले जनाएको छ ।