Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


कोरोना संक्रमण बढ्दै, माघमा उत्कर्षमा पुग्नसक्ने अनुमान


975
Shares

काठमाडौं । पछिल्लो समय ओमिक्रोन भेरियन्ट नेपालमा पनि फैलिएसँगै संक्रमितको संख्या बढ्न थालेको छ । बुधबार ३ हजार ७५ जना नयाँ सक्रमित थपिएकोमा बिहीबार नयाँ संक्रमितको संख्या ३ हजार ५ सय ५३ पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार नाघेको छ ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो लहरले हुने क्षतिलाई विश्लेषण गर्दै गम्भीर बिरामीको संख्या १५ हजार पुग्नसक्ने प्रक्षेपण गरेको छ । मन्त्रालयले पुसदेखि आउने वैशाखसम्मको कोरोनाको अवस्था आंकलन गर्दै माघको दोस्रोदेखि तेस्रो साताका बीचमा संक्रमण उत्कर्षमा पुग्ने देखिएको बताएको छ । माघमा मात्रै डेढ लाख बढी संक्रमित थपिने मन्त्रालयको अनुमान छ ।

मन्त्रालयको उपचारात्मक सेवा महाशाखाका निर्देशक डाक्टर पवनजंग रायमाझीले माघको १५ तिर संक्रमण उत्कर्षमा पुग्ने उल्लेख गर्दै गम्भीर संक्रमितहरूको संख्या झन्डै १५ हजार पुग्ने सम्भावना व्यक्त गर्नुभयो । त्यस्तै, मध्यम लक्षण भएका संक्रमितको संख्या ४५ हजार पुग्ने अनुमान गर्दै उहाँले यो अवधिमा कोरोनाका सामान्य संक्रमित संख्या २ लाख ४० हजार पुग्न सक्ने बताउनुभयो । निर्देशक रायमाझीले अहिले अनुमानित बिरामीको संख्यालाई लिएर सोहीअनुसार मन्त्रालयले स्रोत व्यवस्थापन गर्ने काम गरिरहेको जानकारी दिँदै प्रक्षेपण गरेभन्दा बिरामीको संख्या धेरै उकालो नलागे अहिले भइरहेकै स्रोतले धान्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

विश्वको परिप्रेक्षमा नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढी देखिए पनि नेपालमा भने डेल्टा भेरियन्टको संक्रमण बढीे देखिएको छ । नयाँ भेरियन्ट ओमिक्रोनभन्दा डेल्टा भेरियन्ट बढी हानिकारक देखिएको छ । ओमिक्रोन छिटो छिटो सर्ने भएकोले केही सातापछि नेपालमा पनि नयाँ भेरियन्ट ओमिक्रोन सक्रमितको संख्या नै बढी हुने चिकित्सकहरूको अनुमान छ ।

डेल्टाको तुलनामा ओमिक्रोनले जटिलता कम ल्याउने पनि अनुसन्धानका क्रममा पत्ता लागेको छ । ओमिक्रोन छिटोछिटो सर्ने भएकोले शरीरमा छिटो छिटो एन्टिबढी उत्पादन हुने चिकित्सकहरूको भनाइ छ । कोरोनाविरुद्धको खोपसम्बन्धी युरोपको सल्लाहकार समितिले पनि अब कारोना संक्रमण रोक्न सहज हुने धारणा व्यक्त गरेका छन् ।

नेपाल समाचारपत्र

Skip This