पाटनमा भेटिएको १४ सय वर्ष पूरानो शिलालेखको लिप्यान्तर सकियाे, लेखिएको थियो यस्तो तथ्य « Image Khabar


पाटनमा भेटिएको १४ सय वर्ष पूरानो शिलालेखको लिप्यान्तर सकियाे, लेखिएको थियो यस्तो तथ्य


143.299k
Shares

काठमाडौं । प्रारम्भिक अनुसन्धानले पाटन दरबार क्षेत्रमा प्राप्त १४ सय वर्ष पुरानो शिलालेख लिच्छविकालीन बौद्ध विहार थियो भन्ने तथ्य पुष्टि गर्ने बलियो प्रमाण मानिएको छ । प्राप्त शिलालेखको अध्ययन गरेर लिप्यान्तर सकिएको हो ।

ढल खन्ने क्रममा पुस ५ गते भीमसेन मन्दिरअगाडि ६ फिट लामो बौद्ध धम्मचक्र र श्रावक मृग कुँदिएको महासामन्त अंशुवर्माको शिलापत्र प्राप्त भएको थियो । ७२ वटा अक्षर बिग्रिएको लिच्छवी लिपि र प्रौढ संस्कृत भाषा प्रयोग भएको अभिलेखको लिपी उर्ताने र पढ्ने काम सकिएको छ ।

लिपिविज्ञ श्यामसुन्दर राजवंशीले शिलालेखको लिप्यान्तर गरेर भाषान्तर गर्नुभएको हो । लिच्छवी राजा वृषदेवले बनाएका करिव ३ सय वर्ष पुरानो बौद्ध धातु चैत्यरथको जिर्णोद्धार अंशुवर्माले गरेर त्यसको पूजा र संरक्षण गर्न कैलाशकुट भवनबाट आदेश जारी गरेको कुरा शिलालेखमा लेखिएको उहाँले जानकारी दिनुभयो ।

शिलालेखको भाषान्तर भावार्थ यस्तो छ-
‘कल्याण होस् । कैलासकुट भवनबाट आफ्नो कर्ममा विश्वास गरी अलिकति पनि विचलित नभइ मेहनत गर्ने योब्रङ्ग्राम, लवणग्राम त्योभन्दा माथिका सोम्पलिङ्ग्रामका निवासी जनता र त्यहाँका प्रधानहरूलाई कुशलमंगल सोधेर आज्ञा गर्नुभएको छ । श्री अंशुवर्माले राजा श्री वृषदेवले बनाएको धातु चैत्यरथ स्थापित रहेकोलाई नयाँ मन्दिर बनाइदियो । यसको दैनिक पूजाको लागि भगवद्वाशुदेव गोष्ठीलाई नै जिम्मा दिइयो । यसमा कुनै किसिमको विचलन नआओस् भनी गोष्ठीलाई चित्त बुझ्ने गरी खर्च उपलब्ध गराउन योब्रङ्ग्राम, लवणग्राम तथा सौपलिङ्ग्राम पाञ्चालिका समेत तीनै पाञ्चालिकाहरूलाई अधिकार सुम्पियो । यो कुरा तिमीहरूलाई थाहा होस् । तसर्थ यो कुरा थाहा पाएर हाम्रो तरफबाट जीविका चलाउनेहरूले र अरुहरूले पनि कसैले यो धर्मको कामलाई अन्यथा नगर्नू । जसले यो आज्ञालाई नटेरेर अन्यथा गर्ला त्यसलाई हामी सहने छैनौं । पछि हुने राजाहरूले पनि नियम कानूनलाई ठूलो सम्झेर धर्मको कामको पालना आदरपूर्वक गर्नुपर्छ । संवत् ५३६ ज्येष्ठ शुल्क पूर्णिमा । यस वातका दूतक कुमारामात्य चन्द्रजीव छन् ।’

ललितपुरको मगं हितिमाथि रहेको प्राचिन मणिचैत्यसमेत प्राचिन बौद्ध विहारको अभिन्न अङ्ग भएको राजवंशीको भनाइ छ । वृषदेव बुद्ध धर्ममा धेरै आस्था राख्ने राजा भएको उहाँको भनाइ छ ।

धातुबाट बनेको कलाकृति र सम्पदा वृषदेवको पालामा पनि भएको पुष्टि शिलालेखले गरेको राजवंशी बताउनुहुन्छ । त्यसको संरक्षणका लागि गुथीको समेत व्यवस्था गरिएको उहाँको भनाइ छ ।

शिलालेखले लिच्छवीकालिन बौद्ध विरासतको थप तथ्य प्रकाश पार्ने भएकोले यसको वैज्ञानिक रूपमा शुक्ष्म अनुसन्धान आवश्यक छ ।