Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


देशका अधिकांश स्थानमा बदली, केही स्थानमा हल्का वर्षा र हिमपात


598
Shares

काठमाडौं, पुस २८ । पछिल्लो केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश स्थानमा बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातसमेत भएको छ ।

यो प्रणालीको प्रभाव अझै केही दिन कायम रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आगामी शुक्रबारदेखि अझै अर्कौ मौसमी प्रणालीसमेत विकसित हुने सम्भावना देखिएको विभागले जनाएको छ ।

विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहनुका साथै प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

विभागले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरेको छ । बिहीबार देशभर आंशिक बदली रही अपराह्नपछि प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।