Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


नयाँ वर्ष मनाउन गएका चिनियाँ कामदार फर्केनन्: सुक्खा बन्दरगाहको काम प्रभावित


0
Shares

रसुवा । कामदारको अभाव भएपछि रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा सुक्खा बन्दरगाह निर्माण कार्य प्रभावित भएको छ ।

चिनियाँ कामदार नयाँ वर्ष मनाउन चीन गएको र चीनमा फैलिएको कोरोना भाइरसका कारण उनीहरू निर्माणस्थलमा आउन नपाएका कारण निर्माण कार्य प्रभावित भएको हो ।

अहिले त्यहाँ कार्यरत २४ जना मुख्य चिनियाँ कामदारमध्ये नौ जना कामदार रहेका छन् । यसैगरी निर्माण कार्यमा नेपाली कामदारसमेत पर्याप्त नहँुदा कामले गति लिन नसकेको हो ।

चीन सरकारको आर्थिक सहयोगमा तिब्बत फुली कन्स्ट्रक्सनले गएको मंसिरदेखि निर्माण कार्य सुरु गरेको भए पनि मुख्य कामदार चिनियाँ भएकाले कामले गति लिन नसकेको हो ।

चीन सरकारको सहयोगमा निमार्ण भईरहेको बन्दरगाह ३० महिनामा सम्पन्न गर्नु पर्नेछ । बन्दरगाह निर्माणको सात प्रतिशत काम सकिएको छ ।

बन्दरगाहमा पाँच हजार वर्गमिटरको पाँचतले प्रशासनिक भवन, सात सय ५० वर्ग्मिटरको एउटा गोदाम, दुई हजार ८० वर्गमिटरका दुईवटा जाँचपास स्थल रहने बताइएको छ ।

निर्माण सुरु भएको ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको चिनियाँ पक्षले जनाएको छ । बन्दरगाहमा तीन सय ५० वटा मालवाहक गाडी पार्किङ गर्न सकिनेछ ।

साढे आठ हेक्टर जमिनमा बन्दरगाह निर्माण हुने समितिले जनाएको छ ।