-सागर महत/ ईमेज
अर्घाखाँची । जिल्लाको धार्मिक एवम् पर्यटकीय क्षेत्र बराहदह प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै गएको छ । पर्यटन विकासकोे प्रचुर सम्भावना भए पनि यस क्षेत्रको पूर्वाधार निर्माण र प्रचार नगरिँदा गुमनामजस्तै भएको हो ।
अर्घाखाँचीको सितगंगा नगरपालिकास्थित बरदाहा धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रका रुपमा चिनिन्छ । यस दहमा स्नान गरी बराह भगवानसँग भाकल गरेमा रोगव्याधी हट्ने जनविश्वास समेत रही आएको छ ।
झण्डै एक किलोमिटरको क्षेत्रमा फैलिएको यो दह अर्घाखाँचीको ठाडाखोला र लामिदमारको बीचबाट बग्ने मथुराखोलामा रहेको छ । धार्मिक स्थल बराहदहमा पूजा गर्न छिमेकी जिल्ला दाङ, प्यूठान, कपिलवस्तु लगायतका विभिन्न जिल्लाबाट भक्तजनहरु आउने गर्छन् ।
त्यति मात्र होइन बराहदहमा पहाडि भेगमा पाइने दुर्लभ मानिएको मगरगोही समेत पाइन्छन् । पर्यटन विकासको व्यापक सम्भावना भए पनि गोही र यस धार्मिक क्षेत्रको प्रचारप्रसारमा कमी हुँदा ओझेलमा परेजस्तै भएको स्थानीय शिक्षक बाबुराम आचार्यको भनाइ छ ।
विशेष गरी माघे सक्रान्तिका दिन यस क्षेत्रमा भक्तजनको निकै घुइँचो लाग्ने गर्दछ । यस क्षेत्रकोे प्रचारप्रसार र पूर्वाधार निर्माणका लागि प्रदेश र केन्द्र सरकारसँग बजेट माग गरिएको सितगंगा नगरपालिका– ९ का वडाध्यक्ष भीमबहादुर केसी बताउँछन् ।
विभिन्न विशेषता बोकेका पर्यटकका लागि आकर्षक र रोचक क्षेत्रहरुमा अपेक्षित पर्यटकहरु भित्र्याउन सकिएको छैन ।
नेपालको आर्थिक विकासका लागि ठूलो संभावनाका रुपमा रहेको पर्यटन क्षेत्रलाई थप समुन्नत बनाउन पर्यटकीय गन्तव्यमा पूर्वाधार निर्माण, संरक्षण तथा प्रचारप्रसारमा पनि जोड दिनु अपरिहार्य देखिन्छ ।





प्रतिक्रिया दिनुहोस्