२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


अमेरिकी र जापानीसहित ‘कोरोना’का कारण ७२२ जनाको मृत्यु


0
Shares

बेइजिङ, माघ २५ । चीनबाट सुरु भइ विश्वका विभिन्न देशमा फैलिएको ‘कोरोनाभाइरस’का कारण मृत्यु हुनेको संख्या शनिबारसम्म ७२२ पुगेको छ ।

मृत्यु हुनेमध्ये दुईजना विदेशी पनि रहेको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुले ६० वर्षीय एक अमेरिकी नागरिकको वुहानमा बिहीबार मृत्यु भएको जानकारी दिएपनि अन्य विवरण भने दिएका छैनन् ।

त्यसैगरी, अर्का एकजना ६० वर्षीय नै जापानीको पनि कोरोनाभाइरसकै कारण वुहानमै मृत्यु भएको छ । जापानको विदेश मन्त्रालयले घटनाको पुष्टि गरेको जनाइएको छ ।

सरकारी अधिकारीहरुकाअनुसार थप झन्डै ३५ सयजनामा यस भाइरसको संक्रमण देखिएको छ ।

कोरोनाका कारण चीनबाहिर भने अहिलेसम्म हङकङ र फिलिपिन्समा दुई व्यक्तिको मृत्यु भएको छ । उनीहरु दुवैजना चिनियाँ नागरिक नै हुन् ।

डिसेम्बरकोे अन्त्यमा चिनियाँ बजार वुहानमा पहिलोपटक देखापरेको नयाँ कोरोनाभाइरसको संक्रमण विश्वभर फैलिएको छ ।

विश्वका झन्डै ३० देशमा यो भाइरस फैलिएको छ भने तीन देशमा कुल ३२० जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

कोरोनाभाइरसबाट अतिप्रभावित क्षेत्र मानिने वुहानमा सरकारले शुक्रबार ११ हजार स्वास्थ्यकर्मी थप गरेको छ ।

देशका अति राम्रा मानिएका ‘आइसीयु स्टाफ’सहितका स्वास्थ्यकर्मीको टोली वुहानमा पठाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुमध्ये तीन हजारजना सघन उपचारकक्षमा काम गर्ने चिकित्सक र नर्स रहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका गुओ यानहोङले शुक्रबार बताए ।

अहिले भइरहेका स्वास्थ्यकर्मीले लामो समयसम्म काम गर्दा उनीहरुलाई शारीरिक तथा मानसिक थकान हुने उनको भनाइ छ । रासस/एएफपी