Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


चीनमा सन्तान, नेपालमा चिन्ता, उद्धार गरिदिन माग गर्दै हारगुहार (भिडियोसहित)


0
Shares

प्रज्ञा तिमल्सिना (इमेज)

काठमाडौं, माघ २४ । चीनमा रहेका नेपाली विद्यार्थीका अभिभावकहरु आफ्ना छोरा–छोरीलाई छिटो उद्धार गरिदिन माग गर्दै विभिन्न मन्त्रालय धाएका छन् ।

शुक्रबार गृह र परराष्ट्रमन्त्रीलाई भेटेका उनीहरुले स्पष्ट जवाफ भने पाउन सकेनन् ।

ललितपुरकी कृष्णकुमारी भण्डारीका छोरा–बुहारी र नातिनी हाल चीनमा रहेका छन् ।

तीन वर्षपहिले ‘एमडी’ गर्न चीन गएकी बुहारीलाई भेट्न गत मंसिर २४ गते छोरा र ७ वर्षकी नातिनी चीन पुगेका थिए । तर, उनीहरु अहिले कोठामा थुनिएर बसेका छन् ।

हालसम्म ‘कोरोनाभाइरस’को संक्रमणबाट जोगिएका उनीहरुलाई पनि संक्रमण हुने हो कि भन्ने चिन्ता नेपालमा रहेकी आमा कृष्णकुमारीलाई छ ।

चितवनकी विमला श्रेष्ठका छोरा पनि तीन महिलापहिले एमडी गर्न चीन गएका थिए ।

विमला पनि अन्य अभिभावकहरुझैं छोराको तत्काल उद्धार गरिदिन माग गर्दै मन्त्रालयहरु धाइरहेकी छन् ।

यता, ललितपुर, पाटनकी हसना ताम्राकार पनि चीनमा ‘पीजी’ गर्न गएकी छोरीको उद्धारका लागि धाइरहेकी छन् ।

कोरोनाभाइरस फैलिएपछि अन्य देशका साथीहरु घर गएको तर आफू नेपालबाट लिएर गएको खानेकुरा खाँदै एक्लै बसेको भन्ने छोरीको कुरा सुन्दा बेचैन बनेकी छन्, हसना पनि ।

स्वास्थ्य, गृह, परराष्ट्रमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएका उनीहरुले शुक्रबार प्रधानमन्त्री कार्यलयमासमेत ज्ञापनपत्र बुझाएका छन् ।

तर, सबै निकायहरुको भनाइ एउटै छ, ‘चीनमा रहेकाहरुलाई फर्काउन अझै एक हप्ता लाग्छ ।’

नेपाल ल्याएपछि उनीहरुलाई राख्ने सुरक्षित स्थानको खोजी भइरहेको भन्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकार उनीहरुलाई नेपाल ल्याउने दायित्वबाट नपन्छिने बताएका छन् । 

तर, आगो लागेपछि कुवा खन्न थाल्ने सरकारी प्रवृत्तिका कारण पीडितहरु भने दिक्क बन्दै गएका छन् ।

भिडियो हेर्नुहोस्