२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


चिकित्सक लीको मृत्युबारे छानबिन गर्न टोली वुहान पठाउने चीनको निर्णय


0
Shares

बेइजिङ, माघ २४ । राष्ट्रिय सुपरिवेक्षण आयोगले ‘कोरोनाभाइरस’को संक्रमणपछि मृत्यु भएका चिकित्सक ली वेनलियाङको मृत्युसम्बन्धित मुद्दाहरूको गहन छानबिन गर्न नयाँ कोरोनाभाइरस प्रकोपको केन्द्रविन्दु तथा हुबेई प्रान्तको राजधानी वुहानमा एक निरीक्षण समूह पठाउने निर्णय गरेको छ ।

सञ्चारमाध्यमहरूले जनाएअनुसार चिकित्सक लीले सबैभन्दा पहिले वुहानमा नयाँ कोरोनाभाइरस संक्रमणले प्रकोपको स्वरूप लिने सम्भावना रहेको भन्दै यसप्रति विश्व स्वास्थ्य संगठन तथा विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।

निरीक्षण समूह पठाउने निर्णयलाई चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिले अनुमोदन गरेको आयोगद्वारा शुक्रबार आफ्नो वेबसाइटमा प्रकाशित एक विज्ञप्तिमा उल्लेख छ ।

वुहानको केन्द्रीय अस्पतालका नेत्ररोग विशेषज्ञ लीको डाक्टरको उत्तम प्रयासको बाबजुद कोरोनाभाइरस सङक्रमित भएपछि शुक्रबार बिहान मृत्यु भएको हो ।

राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले शुक्रबार एक विज्ञप्तिमार्फत् लीको मृत्युप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

एनएचसीले चिकित्साकर्मीहरु, जसले व्यक्तिगत चुनौती र जोखिमबीच महामारी नियन्त्रणको नेतृत्व गरिरहेका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति विशेष आभार प्रकट गर्दै उनीहरूको राज्यबाट उच्च मूल्यांकन भएको उल्लेख गरेको छ ।

‘महामारी नियन्त्रणको यो अत्यन्त महत्वपूर्ण घडीमा सम्पूर्ण समाजले चिकित्साकर्मीहरूलाई बढी सहयोग गर्नुपर्छ । साथै, समस्यालाई पार गर्न र भाइरसको प्रकोपविरुद्धको लडाइँमाथि विजयका लागि एकजुट बन्नुपर्छ’–एनएचसीले भनेको छ ।

यसबाहेक वुहान नगरपालिका प्रशासनले शुक्रबार एक सूचनामा लीको मृत्युप्रति शोक व्यक्त गरेको छ ।

‘हामी यस घडीमा उहाँको निधनप्रति गहिरो समवेदना व्यक्त गर्छाैं । महामारीको विरूद्ध अग्रमोर्चामा लड्ने उहाँलाई सम्मान व्यक्त गर्दछौं । साथै, उहाँको परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं’–स्थानीय नगर प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । रासस/सिन्ह्वा