
जयराम बास्तोला (इमेज)
भक्तपुर, साउन २१ । काठमाडौंको काँडाघारीबाट आइतबार अपरिहत बालकको हत्या भएको छ ।
११ वर्षीय निशान खड्काको शव सोमबार भक्तपुरको सानोठिमीमा गाडिएको अवस्थामा भेटिएको हो ।
भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको एक निर्माणाधीन घरभित्र निशानको हत्या गरी शव फालिएको अवस्थामा भेटिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआइजी मनोज न्यौपानले जानकारी दिए ।
अपहरणकारीले आइतबार बालकको अपहरण गरी ४० लाख रुपैयाँ फिरौती माग गरेका थिए ।
अपहरणकारीको खोजी गर्दै जाँदा अपराध महाशाखाको टोलीसँग भिडन्त हुँदा दुईजना अपहरणकारीसमेत मारिएका छन् । मारिनेमा अजय तामाङ र गोपाल तामाङ छन् ।
अपराध महाशाखाको टोलीले भक्तपुरकै डोलेश्वर महादेव मन्दिरमाथि रहेको जंगलमा सोमबार दिउँसो अपहरणकारीलाई ‘इन्काउन्टर’ गरी मारेको छ ।
अपहरणकारी खोज्दै गएको महाशाखाको टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गर्दा दुईजना अपहरणकारी मारिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए ।
घटनास्थलबाट प्रहरीले एकथान पेस्तोल, दुई राउन्ड गोली र अपहरणपछि फिरौती रकम माग गरिएको सिमकार्ड प्रयोग गरिएको मोबाइल बरामद गरेको छ ।
दुवै अपहरणकारी बालकका चिनजानकै व्यक्तिहरु रहेको जनाइएको छ ।
उनीहरु आइतबार दिउँसो बालकको आमाले सन्चालन गर्ने खाजा पसलमा आएर बसेका थिए । साँझ बच्चालाई घुम्न भनेर लिएर गइ अपहरण गरेका जनाइएको छ ।
मृतक बालक सिन्धुपाल्चोक घर भइ काँँडाघारीमा बस्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्