Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


सडक निर्माणमा गुणस्तरीय बालुवा प्रयोग भएन


0
Shares

सिन्धुली । सडक निर्माण गर्दा गुणस्तरीय बालुवा प्रयोग नभएको पाइएको छ । नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडकको पूर्वी खण्ड सडक निर्माणका क्रममा कमलानदीको गुणस्तरीय बालुवाको खपत नहुँदा सडक निर्माणको काम फितलो देखिएको छ ।

आयोजनाअन्तर्गत सिन्धुलीको भिमानदेखि उदयपुरको बसाहासम्मको कुल १ सय ३५ किलोमिटर सडक निर्माणको ठेक्का पाएको जेडआईसी शर्मा लामा जेभीले स्थानीय रुपमा कच्चा पदार्थ उत्पादन गरी सप्लाई गर्ने गराउने अनमोल मेनेज्मेण्ट प्रशोधन केन्द्रबाट सम्झौता गरिएको कुल ११ हजार घन मिटर धोएको बालुवा खपत गर्नुपर्नेमा ३ हजार मात्र खपत गर्दा सडक निर्माणको काममा कमसल बालुवाको खपत हुन गएको हो ।

सडक आयोजनाको मेसिनरी वाल र स्ट्रक्चरको कार्यमा प्रयोग गर्नुपर्ने अनमोल मेनेज्मेण्ट प्रशोधन केन्द्रबाट उत्पादित धोएको गुणस्तरीय बालुवा खपत नहुँदा प्लान्टको हाता कमलानदी किनारमा लाखौं मूल्यको बालुवाको थुप्रो त्यसै खेर जाने भएको छ ।

सडक निर्माणको ठेकेदार जेडआईसी शर्मा लामा जेभीले पेटी ठेकेदारमा अन्य साना ठेकेदारहरुलाई मेसिनरी वाल र स्ट्रक्चरको काम घटाघटमा दिएपछि सडक निर्माणका क्रममा नधोएको खोलाखहरेको बालुवा खपत गर्दा सडकको गुणस्तमै कमी आएको हो ।