भैरहवा । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको व्यवसायिक सटरमा डोजर चलेको छ । प्रदेश सरकारले अस्पतालको विकाससँगै प्रदेशको गौरवको आयोजनाको रूपमा अगाडि बढाउने भएपछि आज बिहानैदेखि डोजर चलाएर सटर भत्काउन सुरु गरिको हो ।

अस्पताल प्रशासनले पटक–पटक सूचना प्रकाशित गरी सटर खाली गर्न व्यवसायीलाई आग्रह गरे पनि अटेर गरेपछि अस्पतालका सटरहरुमा डोजर चलाइएको हो । अस्पतालका ७३ वटा ब्यवसायिक सटरहरू रहेका छन् ।
जिल्ला अदालत रुपन्देहीमा परेको मुद्दामा अदालतले सटर भत्काउन बाटो खुलाएसँगै अस्पताल विकास समितिले बुधवार राति १२ बजेसम्म २४ घण्टे अल्टिमेटम दिएको थियो ।

अल्टिमेटम दिँदा पनि व्यवसायीहरूले सटर खाली गर्न आनाकानी गरेपछि डोजर चलाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।
अस्पतालको चरणवद्ध विकासका लागि सटरहरु खाली गर्ने योजनाअनुसार सटर भत्काइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन राजेन्द्र खनालले जानकारी दिए । आज अस्पतालका सबै सटरमा डोजर लगाएर खाली गरिने जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्