५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


‘कोरोनाभाइरस’को संक्रमण फैलिए नेपालको स्वास्थ्य क्षेत्रले थेग्न सक्दैन : चिकित्सक


0
Shares

प्रज्ञा तिमल्सिना (इमेज)

काठमाडौं, माघ २२ । छिमेकी मुलुक चीनबाट सुरु भएको कोरोनाभाइरस’को संक्रमण फैलँदोक्रममा छ ।

संक्रमण फैलिन नदिन चीनले युद्धस्तरमा काम गरे पनि दैनिक सयौं नयाँ रोगीहरु भेटिएका छन् ।

संक्रमण फैलनसक्ने भन्दै नेपालले पनि केही तयारी त गरेको छ । तर, जनस्वास्थ्यको संयन्त्रविनै तयारी गरिएकाले नेपालमा यो रोगको संक्रमण फैलिए स्वास्थ्य क्षेत्रले थेग्न नसक्ने चिकित्सकहरु बताउँछन् ।

चीनमा देखिएको कोरोनाभाइरसको संक्रमण कुनैपनि बेलामा नेपालमा पनि फैलनसक्ने खतरा छ ।

झन् चीनमा रहेका १८० नेपाली विद्यार्थीलाई फिर्ता ल्याउने तयारी भइरहँदा कतै तिनै विद्यार्थीका कारण संक्रमण बढ्ने पो हो कि भन्ने चिन्ता सर्वसाधारणमा देखिन्छ ।

स्वस्थ विद्यार्थीलाई मात्र नेपाल फर्काइने भन्दै सरकारले कोरोनाभाइरसको उपचारका लागि काठमाडौंका तीन अस्पतालमा ४३ शय्यालाई ‘आइसोलन’कक्षको रुपमा छुट्टाएको छ । तर, सरकारी तयारी अपुग भन्दै स्वास्थ्यकर्मीरुले नै प्रश्न उठाएका छन् ।

तालिमप्राप्त स्वास्थ्यकर्मी छन् कि छैनन् ? कुन–कुन अस्पतालहरु सक्षम छन् ? र आइसोलेसनकक्ष उपयुक्त छ कि छैन भनेर पहिला नै सर्वेक्षण गर्नुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् ।

चिकित्सकहरु कुनैपनि सरकारी अस्पतालमा न्यूनचापीय ‘आइसीयु’कक्ष नभएकाले कोही व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखियो भने अरुमा छिट्दै सर्नसक्ने बताउँछन् ।

स्वास्थ्य क्षेत्रहरुलाई कसरी तयारी राख्ने भन्नेबारे बनेको प्राविधिक समितिका सदस्यसमेत रहेका संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदी स्वास्थ्यकर्मीलाई संक्रमण नियन्त्रणको तालिम दिनुपर्ने र त्यसमा सरकारले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताउँछन् ।

चीनमा रहेका १८० विद्यार्थीलाई ल्याउँदैमा कोरोनाभाइरसको संक्रमण बढ्ने खतरा नरहेको भन्दै डा. सुवेदीले उनीहरुलाई कसरी राख्ने र संक्रमण देखियो के गर्ने भन्ने तयारी अवस्थामा बस्नुपर्ने बताए ।

चीनबाट नेपाल आएका अरु व्यक्तिमा पनि रोगको संक्रमण छ कि छैन भनेर परीक्षण गर्ने, स्वास्थ्य सेवालाई अहिलेकोभन्दा बढी चुस्त बनाउने, जनस्वास्थ्य सयन्त्र बनाएर लागू लगाउनेजस्ता काम गर्नुपर्ने डा. सुवेदीको भनाइ छ ।

चीनबाट नेपाल आएका १४ जनामा परीक्षण गर्दा एकजनामा मात्र संक्रमण देखिएको थियो । बाँकीलाई परीक्षणपछि घर पठाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चिकित्सकहरुकै भनाइ मान्ने हो भने सरकारको कमजोर स्वास्थ्य तयारीका कारण संक्रमण देखापरे नियन्त्रण गर्न कठिन हुने देखिन्छ ।