साढे ७ लाख मतदाता थपिए « Image Khabar


साढे ७ लाख मतदाता थपिए


117
Shares

काठमाडौं । निर्वाचन आयोगले जारी राखेको मतदाता नामावली संकलन अभियानमा हालसम्म ७ लाख ४९ हजार मतदाता थपिएका छन् । आयोगले ७७ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय विभिन्न ४३ वटा इलाका प्रशासन कार्यालयबाट नियमित मतदाता नामावली संकलन गरिरहेको जनाएको छ ।

यसअघि गत मंसिर १७ गतेदेखि एक महिनाका लागि मतदाता कार्यक्रम सञ्चालन गरिएको थियो । एक महिनासम्म गरिएको मतदाता नामावली संकलन दुई चरण सञ्चालन गरिएको थियो । मतदाता नामावली संकलन अभियान हिमाल र पहाडमा १० दिन तोकिएको थियो भने तराई र शहरी क्षेत्रमा १५ दिन सञ्चालन गरिएको थियो ।

आयोगका अनुसार शुक्रबारसम्म ७ लाख ४९ हजार जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । मतदाता नामावली दोस्रो चरणको कार्यक्रम पुस १९ गते सकिँदै छ । तर, दोस्रो चरणको कार्यक्रम सकिए पनि मतदाता नामावली कार्यक्रम निरन्तर चल्ने आयोगको भनाइ छ ।

हाल देशको जुनसुकै ठाउँबाट आफ्नो नाम दर्ता गराउन पाइने आयोगले जनाएको छ ।