समाजवादको भविष्य-नेपाली जनताको सन्तुष्टि « Image Khabar


समाजवादको भविष्य-नेपाली जनताको सन्तुष्टि


1.131k
Shares

हरिविनोद अधिकारी

काठमाडौं । मान्छे एउटा उध्र्वगामी र स्वार्थी स्वभावबाट निर्देशित हुन्छ भन्ने मनोवैज्ञानिकहरुको धारणा छ ।

तर यो पृथ्वी भन्ने ग्रहमा अन्तक्र्रियात्मक र एकअर्कामा शब्दद्वारा सञ्चार गर्न सक्ने विवेकशील प्राणी पनि मानिस नै हो । मानवीय जीवनमा मानिस आफैँप्रति बढी नै केन्द्रित हुन्छ । यो एकप्रकारले मानवीय स्वाभाविक गुण नै हो भनिन्छ । बिस्तारै परिवारको सुरुवात गरिएको र त्यस्तो परिवार सुरक्षाका लागि पनि समुदायमा बस्न थालेको हुनुपर्छ । धेरै पहिलेको कुरा अहिले अनुमानका भरमा र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा भन्नुपर्ने हुन्छ । यसरी एउटा परिवार, एउटा समुदाय र अर्को परिवार, अर्को समुदायका बिचमा हुने झगडाको कारण खाने कुरा खोज्दै जाँदा पाइने सिकारको लागि हुन्थ्यो भने अर्को कारण भनेको मानवीय जीवनको अपरिहार्य पक्षको रुपमा मानिएको विपरित लिङ्गीप्रतिको आकर्षणको कारण हुन्थ्यो पक्कै ।

एउटा परिवार र अर्को परिवारका बिचमा हुने संघर्षको नेतृत्व गर्न र मेलमिलाप गर्न पनि त्यहाँ कुनै मान्य नेतृत्व स्थापित गरियो होला । त्यस्तो नेतृत्व पक्कै पनि बलिष्ठ बाहुको बलियो मानिसलाई सुम्पियो होला जसले आफ्नो जमातको रक्षा गर्न सकोस् । यहाँनेर व्यक्तिको अस्तित्व समुदायमा विलीन भयो होला र समाजको आवश्यकता महसुस भयो होला । जब एकअर्काको बोली बुझ्न र एकअर्कालाई आँखाका भाकामा बुझ्न, मनले भनेको अमूर्त कुराहरुको अर्थ लगाउँदा सही भाव मिलेन होला, अनि बोलीबाट एकअर्कालाई सम्झाउने चलन आयो होला जसका कारणले भाषाको उत्पत्ति भयो होला । आफैँलाई त आफैँले चिन्ने कुरै भएन । अर्काले भन्नुपरेको होला तँ को होस् । यसरी मानवको सभ्यताको सुरुकालमा नै मानव समाजप्रति दायित्वबोध गर्ने , एकअर्काप्रति भर पर्नुपर्ने अवस्था आयो होला । यसरी समाजको आधारमा व्यक्तिको अस्तित्व स्वीकार गर्ने र स्वीकृत अस्तित्वको जगेर्ना गर्न समाजको आवश्यकता परेको थियो होला । यसरी व्यक्ति र समाजका बिचमा अनन्य सम्बन्ध बन्यो होला स्वतः, निःशर्त र अनजानमै ।
व्यक्तिले समाजका बारेमा र समाजका आधारमा सोच्ने अनि समाजले व्यक्तिका बारेमा र व्यक्तिका आधारमा समाज चलाउने चलन चल्यो होला आदिमकालबाटै । प्रत्येक व्यक्ति आफैँमा विशिष्ट हुन्छ, फरक स्वभावको हुन्छ, स्वतन्त्रता रुचाउने हुन्छ तर समाजमा मिलेर बस्ने बानीको विकास भने गरेको हुनुपर्छ । व्यक्ति र समाजको यो रासायनिक सम्बन्ध नै आजको समाजवादको आधारशिला हो ।

सोभियत संघको पतन हुनुमा त्यहाँको व्यवस्था समाजको चाहना अनुसार मानिएको थियो र त्यसदलाई कम्युनका आधारमा चलाइने सामूहिकतामा आधारिक समाजवादको नाम दिइएको थियो र त्यसको बलजफ्ती सात दशक प्रयोग गरेर असफल भएपछि भनियो, समाजवादको अन्त्य भयो । अर्थात् कार्लमाक्र्सको कम्युनका आधारमा चलाइने राज्य व्यवस्थालाई कम्युनिज्म भनिएको थियो । कार्ल माक्र्स र एंगेल्सले तयार गरेको कम्युनिस्ट पार्टीको मेनेफस्टोलाई एउटा पक्षले बेद, बाइबल र कुरानजस्तै मानेर प्रयोग गरे र त्यसको नामाकरण समाजवाद भनेर गरे । सायद त्यसैले होला, सोभियत संघको पतन र विभिन्न देशका रुपमा सोभियत संघ विभाजन भएपछि भनिएको हो, अब संसारमा समाजवादको अन्त्य भयो ।

समाजवादको निरंकुश स्वरुपका कारणले ,अझ भनौ लेनिन, स्टालिनजस्ताको निरंकुश अनि सेनाका भरमा जनतालाई दबाउने राज्यनीतिका कारणले समाजवाद भनेको निरंकुशता होइन, यसको सामाजिक सञ्चालन साम्यवादी पाराले हुँदैन भन्दै युरोपमा समाजवादको नयाँ खोजी भयो र सामाजिक प्रजातन्त्रलाई समाजवादको रुपमा विकसित गर्न थालियो ।

समाजवाद अहिले फेसनको रुपमा प्रयोग गरिने राज्यप्रणालीको नाम भएको छ । साम्यवादी भनेर आफूलाई चिनाउनेहरु पनि आफूलाई समाजवादी भन्न रुचाउने बेला भएको देखिन्छ । साम्यवादको नमुनामा एकदलीय , निरंकुशता र जनतालाई कुनै पनि नागरिक अधिकार नदिने तर दिएको भनेर भन्नुपर्ने बाध्यकारी शासनलाई बुझाउने भएकाले शासन व्यवस्थाको नामचाहिँ समाजवादी भन्ने चलन देखियो । कुनै पनि साम्यवादी भनेर आफूलाई भन्न रुचाउने दल र तिनका इमान्दार कार्यकर्ताले देखाउने नमुना देशहरुमध्ये पर्ने केही हातमा गन्न पुग्ने देशहरुको नाम हुन्—उत्तर कोरिया, क्युबा, चीन आदि ।

चीनले विकासको लामो बाटो तय गरेर समृद्धिको बाटोमा आफूलाई पुर्‍याउँदा पनि विश्वव्यापीरुपमा भनिने प्रजातन्त्र र जनताको व्यक्तिगत स्वतन्त्रतापूर्वक जनप्रतिनिधि छान्ने र शासनमा सहभागिता दिन सकेको छैन र बारम्बार भन्नेगर्छ—प्रजातन्त्र पनि विशिष्ट लक्ष्य अनुसार निर्देशिति हुन्छ र मानव अधिकारको व्याख्या आफआफ्नो देशको फरक फरक हुन्छ । उत्तर कोरिया र क्युबाका बारेमा केही भन्ने नपर्ने छ । उत्तर कोरियाले आफ्नो देशलाई प्रजातान्त्रिक जनगणतन्त्र भन्दा हाँसो उठ्छ । अनि तिनै देशहरुलाई आदर्श मानेर प्रजातन्त्रका पक्षधर हौँ भन्नेहरुको प्रजातन्त्र र समाजवादको नारामा कसरी मुलुक अनिर्णयको बन्दी हुन्छ भन्ने कुराको प्रत्यक्ष उदाहरण हाम्रै देश बनेको छ । नेपालको संविधानमा राज्यको समष्टिगतरुप नै समाजवाद उन्मुख राष्ट्र मानिएको छ ।नेपालमा समाजवादको बुझाइ केही दृष्टिविहीनहरुको हात्ती छमाइको लोककथा जस्तो छ । दृष्टिविहीनहरुले हात्ती छाम्दै गए, हात्तीको जुन –जुन अंग उनीहरुले स्पर्श गरे, त्यसकै आकारमा हात्तीलाई सम्झने कोसिस गरे । कसैले हात्तीलाई साँप जस्तो ठाने, कसैले डोरी सम्झे, कसैले थाम सम्झे, कसैले भित्तो जस्तो ठाने त कसैले नाङ्लो सम्झे । आखिर हात्तीका अंगहरु ती –ती सामानसँग सामञ्जस्य त राख्थे तर वास्तवमा हात्ती त समग्रमा हात्ती नै थियो । ठिक त्यस्तै भएको छ नेपालमा समाजवादको बुझाइ । समाजवाद उन्मुख भनेको आर्थिक समानताका पक्षमा हुनुपर्छ, नागरिक अधिकारमा सामाजिकता प्रदर्शन गरिनु पर्छ , समाजका कुनै पनि सदस्य बराबरीको हुनुपर्छ, जहाँ कुनै प्रकारको विभेद हुनुहुँदैन ।

जसले विविध विशेषता भएको समाज मिलेर बसोस् र समाजमा रहेका सबै वर्ग, जात, लिङ्ग, आर्थिक अवस्थाका मानिसहरुले आफूलाई राज्यबाट सुरक्षित ठानून् । फरक फरक तरिकाले व्याख्या गरिँदा अन्यौल छाएको हो । समग्रमा देश विकासको काम सबैको हो , सायद त्यसैले पनि वहृुलवादको आवश्यकता परेको हो ।कुनै पनि नागरिक र समूहले शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षा, बास, गाँस र व्यक्तिगत स्वतन्त्रतामा कमी महसुस गर्नु नपरोस् । कुनै बच्चाले , कुनै पनि किशोरले, कुनै पनि युवाले, कुनै पनि शिक्षितले , कुनै पनि कुनै पनि माताले, कुनै पनि पिताले, कुनै पनि तप्काको नागरिकले, अल्पसंख्यक चाहे त्यो जातीय, यौनिक या भाषिक होस्, आफ्नो सुरक्षा कानुनमा पनि पाओस्, व्यवहारमा पनि पाओस् र आत्मसन्तुष्टिको तहसम्म उसमा आनन्द छाओस् । अर्थात् राज्यको शासन प्रणाली यस्तो होस् जसले प्रजातन्त्रको अभ्याससँगै समाजीकरणको भावनालाई आत्मसात् गरेको होस् ।

आजको समाजवाद भनेको त्यो प्रजातन्त्रभित्रको समाजीकरण हो र समाजीकरणभित्रको मानवीय स्वतन्त्रताको पक्षमा अडिग, सबैलाई समानताका आधारमा प्रदान गरिने सामाजिक राज्य व्यवस्थाको रुपमा लिइयो । जुन राज्य व्यवस्था, प्रतिस्पर्धामा जनताले चुनेका प्रतिनिधिहरुले आवधिकरुपमा बस्न पाउने गरी सञ्चालन गर्ने खालको होस् ।नेपालको परिप्रेक्ष्यमा नेपाली कांग्रेस पार्टी आफूलाई प्रजातान्त्रिक समाजवादी भन्छ, जहाँ समाजवादको अभ्यास प्रजातन्त्रमार्फत् गर्न चाहन्छ, आंशिकरुपमा गर्दै आएको पनि छ । नेपाली कांग्रेसका लागि मुख्य पथप्रदर्शक बीपी कोइराला नै हुुनुहुन्छ । उहाँ भन्ने गर्नेहुन्थ्यो —समाजवाद त्यस्तो राज्य व्यवस्था हो जहाँ जनताले राजनीतिक रुपबाट स्वतन्त्रता र आर्थिकरुपबाट समानताको अनुभव गर्न सकून् । समाजवाद यिनै दुई मुख्य पोया हुन्, एकको अभावमा अर्को अपूर्ण हुन्छ । अर्थात् राजनीतिक स्वतन्त्रता र आर्थिक समानता । बोलीमा होइन कि अभ्यासमा । जनताले अनुभूत गर्नेगरी । जस्तो कि अहिले स्क्यान्डेनेभियन देशहरुमा अभ्यासमा छ राजनीतिक प्रणाली । त्यहाँ प्रजातान्त्रिक समाजवादी सरकार पनि आउँछ, उसको अत्यन्त विरोधी परम्परावादी दक्षिणपन्थी सरकार पनि आउँछ तर जनताका लागि दिइने आधारभूत आवश्यकतामा एउटाले भन्दा अर्कोले सेवा पुर्‍याउँछ ।

अर्थात् समाजका सेवाका लागि, आम जनताको जीवनस्तर समानतहमा पुर्‍याउनका लागि गरिने सम्पूर्ण प्रयास नै समाजवादको अभ्यास हो । शब्द र नारामा जे भने पनि हुने रहेनछ । नेपालमा साम्यवादीहरुले पनि आफूलाई समाजवादसम्म पुग्ने बाटोका लागि प्रजातन्त्रको उपयोग गरेको भन्छन् । सत्तामा पुगेपछि प्रजातन्त्र र समानताभन्दा कसरी सत्ताबाट बाहिरिनु नपरोस् भन्ने चाहनाले जे पनि गर्ने, जोसँग पनि सहकार्य गर्ने काम भएको छ जसको परिणामस्वरुप नेपालको समाजवादको बाटो अन्यौलग्रस्त भएको मानिन्छ ।

समाजवाद एउटा अन्तर्राष्ट्रिय आन्दोलन हो र पनि नेपाली प्रसङ्गमा संवैधानिक प्रक्रियाबाटै नेपालीको आकांक्षा पूरा गर्ने शासन व्यवस्थाको धरोहरको रुपमा रहेको प्रक्रिया हो । तर यसमा अलमल छ । कसैले आर्थिक समानताको मात्र कुरा गर्छन् त कसैले नागरिक अधिकारमा समावेशिताको कुरामा मात्र जोड दिन्छन् । मूलतः साम्यवादी समानताको आलोकमा नयाँ समाजवादको जुन अर्र्थ लगाइने गरेको छ, त्यसले भावी राजनीतिक भविष्यलाई अन्धकारतर्फ धकेलेको बुझिन्छ । त्यसैले आजको समाजवाद भनेको प्रजातन्त्रको मूलमर्मलाई आत्मसात् गर्दै समानरुपमा राज्यका सुविधा वृद्धि गर्ने र समानरुपमा सुविधा र कमी वितरणको आधारमा अगाडि बढाइनु पर्छ भनिन्छ ।

समाजवादको नेपाली संस्करण बीपीले गर्नुभएको समानताको अभ्यासबाट सुरु भएको मान्नुपर्छ र पछिल्लो अभ्यासमा मनमोहन अधिकारीले सुरु गरेको वृद्ध भत्ताको बाटोबाट नयाँ अध्याय खुलेको मान्नुपर्छ । संविधानमा लेखिएको समाजवादका बारेमा विभिन्न दलहरुको आफ्नै बुझाइ जस्तो भए पनि अन्ततः जनताको अत्यावश्यक सेवाको आधार नै समाजवादको सिद्धान्त हो, जनताको सेवा नै प्रक्रिया हो र जनताको सन्तुष्टि नै परिणाम हो जहाँ कुनै पनि नेपालीले भोकै सुत्नु नपरोस्, ओखतीको कमीले अकाल मृत्यु बरण गर्नु नपरोस्, विद्यालयको शिक्षा पाउनबाट वञ्चित हुनु नपरोस् , बस्नलाई छाना, खानलाई खानाको कमी नपरोस् र सुरक्षाको कमीले गृहयुद्ध ननिम्तियोस् ।

बस, यही हो नेपालले चाहेको समाजवाद, प्रजातन्त्र अर्थात् नेपालका लागि प्रजातान्त्रिक समाजवाद । यो कसैको पेवा होइन तर अभ्यासमा जसले तदारुकता देखायो , त्यसैको सम्पत्ति हुनेछ समाजवादको लक्ष्य, प्रक्रिया र परिणाम ।