Logo २२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026


इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान


221
Shares

काठमाडौं । ठगी तथा संगठित अपराध मुद्दामा आरोपित सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारी संस्था लि सोल्टिमोड, काठमाडौंका प्रमुख कार्यकारी सल्लाहकार तथा पूर्व अध्यक्ष इच्छाराज तामाङ तथा यस सहकारीका हालका अध्यक्ष केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

सिभिल ग्रुपका पूर्वअध्यक्ष तामाङसहितका प्रतिवादीहरूलाई ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ७९ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पक्राउ गरेको थियो ।

मुद्दाको अन्तिम टुंगो नलागेसम्म तामाङ थुनामै रहनेछन् । तर उनले जिल्ला अदालतको आदेशलाई पाटन उच्च अदालतमा चुनौती दिनसक्ने कानुनी व्यवस्था छ । तामाङ, उनकी पत्नी र छोरीसहित ४२ जनाविरुद्ध ठगी मुद्दा दायर भएको थियो ।

अदालतले प्रहरीले प्रतिबादी बनाएका १२ जना मध्ये ९ प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ भने एक जनालाई साधारण तारेखमा रिहा गरेको छ । साधारण तारेखमा रिहा हुनेमा संगीत श्रेष्ठ रहेका छन् ।

अदालतले प्रतिवादी हरिहर लामिछानेलाई ५० लाख रुपैयाँ धरौटी माग गरेको छ । यस्तै, विजय विक्रम शाहीसँग १५ लाख, भगवान डंगोलसँग १० लाख धरौटी माग गरेको छ । यस्तै, प्रतिवादीहरु बुद्धराज तामाङसँग ५ लाख, कस्तुभ केतन ढुंगानासँग ५ लाख, एलिना तुलाधरसँग ५ लाख, र मायानानी महर्जनसँग ५ लाख रुपैयाँ धरौटी मागेको छ । अदालतले शंकरप्रसाद पाठकसँग दुई लाख ५० हजार र राकेश महर्जनसँग ५० हजार रुपैयाँ धरौटी माग गरेको छ ।