किसानका माग पूरा नगरेको भन्दै सीके राउतको पार्टीबाट पूर्व पश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्दको घोषणा « Image Khabar


किसानका माग पूरा नगरेको भन्दै सीके राउतको पार्टीबाट पूर्व पश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्दको घोषणा

संघीय सरकारका मन्त्रीलाई मधेशमा प्रवेश निषेध

3.432k
Shares

काठमाडौं । केही दिन अघि सिरहामा बन्दको नाममा तोडफोड गर्दै आन्दोलनमा उत्रिएको सीके राउत नेतृत्वको जनमत पार्टीले पूर्व पश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्द गर्ने धम्की दिएको छ ।

पुस १५ गतेदेखि राजमार्ग अनिश्चितकालसम्म बन्द गर्ने धम्कीसहितको विज्ञप्ति राउतले निकालेका छन् ।

किसानका मुद्दा सम्बोधन नगरेसम्म सडक बन्दको कार्यक्रम जारी रहने भन्दै राउतले मधेशका जिल्लामा संघीय सरकारका मन्त्रीहरुलाई प्रवेश गर्न नदिने उद्घोष पनि गरेका छन् ।

आफ्नो पार्टीले राखेका किसानसंग सम्बन्धित ७ बूँदे माग पूरा गर्न सरकारले वार्ता समेत नगरेको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ज्ञापनपत्र समेत लिन अस्वीकार गरेको राउतको विज्ञप्तिमा उल्लेख छ ।

पार्टी कार्यकर्तामाथि बल प्रयोग गरेको, धरपकड गरेको, अंगभंग हुने गरी कुटपिट गरेको र झुठा मुद्दा लगाएको दाबी पनि उनको छ ।

सिराहाको औरही गाउँपालिकाले आफ्नो भण्डारबाट गहुँको बीउ लुटेको आरोपमा चार जना किसानमाथि अपराधिक क्रियाकलाप सम्बन्धी मुद्दा चलाएपछि राउत नेतृत्वको पार्टीले ध्वंसात्मक गतिविधिसहित प्रदर्शन गरेको थियो । जसका कारण सिराहामा २ दिन कफ्र्यू समेत लगाउनु परेको थियो ।