
हङकङ, माघ २१ । विश्वभर त्रास फैलाएको ‘कोरोनाभाइरस’का कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले पुष्टि गरेका छन् ।
हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो ।
उपचारका लागि प्रिन्स मार्गरेट अस्पतालमा भर्ना भएका उनी १३औं व्यक्ति थिए ।
उपचाररत् ती व्यक्तिको स्वास्थ्य अवस्था बिग्रिएसँगै मंगलबार बिहान मृत्यु भएको हो ।
हङकङको व्याम्पो गार्डेनमा बसोबास गर्दै आएका ती व्यक्ति गत जनवरी २१ मा हङकङबाट वुहान र जनवरी २३ मा हङकङ फर्किएका थिए ।
मंगलबारसम्म चीनमा यस संक्रमणबाट मृत्यु हुनेको संख्या ४२५ पुगिसकेको समाचार संस्था ‘एएफपी’ले जनाएको छ ।
यस भाइरसबाट संक्रमण भएका दुई हजार १४३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । भाइरस संक्रमण ३९६ जनालाई अस्पतालबाट घर फर्काइएको छ ।
हुबेई प्रान्तका सहायक गभर्नर सिआयो जुवाले उक्त प्रान्तमा स्वास्थ्य उपचार र सतर्कताको काममा कुनै कसर बाँकी नराखिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।
उनले चीनले वुहानबाट भाइरस अन्यत्र फैलिन नदिन विशेष सतर्कता अपनाएको बताएका छन् ।
यता, चीनको केन्द्र सरकारले पनि वुहानलगायतका धेरै सहर–बजारमा मानिसको आवत–जावत रोक्नाका साथै सवारी–साधनहरु बन्द गरेको छ ।
यसअघि, फिलिपिन्समा पनि आइतबार एकजनाको ज्यान गएको थियो । उनी पनि वुहानबाट गएका ४४ वर्षीय चिनियाँ नागरिक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
ती चिनियाँ नागरिकको मृत्यु भएको पुष्टि भएलगत्तै फिलिपिन्स सरकारले चीनबाट आउने विदेशी नागरिकको आवागमन बन्द गर्ने घोषणा गरेको छ ।
‘चीनबाहिर कोरोनाभाइरसका कारण व्यक्तिको मृत्यु भएको यो पहिलो घटना हो’–‘डब्लुएचओ’को भनाइ छ । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्