-कल्पना बोहरा/ ईमेज
अछाम । हत्या भएको भनिएका अछामको पञ्चदेवल बिनायक नगरपाकिला–२ माथिल्लो बिनायकका वडाध्यक्ष पदमबहादुर धामीको शव भैंसीको गोठभित्र फेला परेकोबारे अनुसन्धान सुरु भएको छ ।
अनुहारभरि रगत लत्पतिएको अवस्थामा उनको शव मंगलबार बिहान भेटिएको थियो । माथिल्लो बिनायक स्थित धामीगाउँको गैरीगाउँ भन्ने ठाउँमा स्थानीयको भैंसी बाधेको गोठभित्र धामीको शव भेटिएको नेपाली काँग्रेस अछामका प्रवक्ता वेदप्रकाश तिमिल्सिनाले जानकारी दिएका छन् ।
उनका अनुसार अध्यक्ष धामीको हत्यापछि शव गोठमा लगेर फालिएको हुनसक्ने आशंका गरिएको छ । हत्या कसले र किन गरेको हो भन्ने बारे खुल्न नसकेको पनि उनको भनाइ छ । बिहान ७ बजे भैंसीलाई घाँस हाल्न गोठमा गएका एक महिलाले शव देखेपछि घटना सार्वजनिक भएको हो ।
घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । अछामका प्रहरी प्रमुख डीएसपी दीपक भारतीका अनुसार शवको अवस्था अध्ययन गर्नुका साथै घटनास्थल वरिपरिको स्थितिसमेत अवलोकन गरिएको छ ।
तर घटना हत्या हो होइन भन्ने विषयमा यकिन हुन नसकेको उनको भनाइ छ । मृतक ४० वर्षीय धामी नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।








प्रतिक्रिया दिनुहोस्