Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


फोहोरबाट निकालियो ग्यास, कावासोती बजार सफाचट


0
Shares

-विवेक भण्डारी/ईमेज

नवलपुर । अधिकांश सहरी क्षेत्रमा फोहोर व्यवस्थापनमा ठूलो रकम खर्चिनुपरेका बेला नवलपुरको कावासोतीका स्थानीयले भने फोहोरको सदुपयोग गर्न सफल भएका छन् ।

कुहिने र नकुहिने फोहोर छुट्याई  वायोग्यास उत्पादन गरेपछि त्यसबाट आम्दानी समेत भइरहेको हो ।

नवलपुरको कावासोतीमा रहेको कावासोती बजार उपज केन्द्रका व्यवसायीले आफूले फालेको फोहोर आफैंले व्यवस्थापन गर्न थालेका हुन् ।

बजारमा निस्कने फोहोरलाई वर्गीकरण गरी त्यसबाट ग्यास समेत उत्पादन गरेपछि बेकामको भनिएको फोहोर नै आम्दानीको माध्यम बनेको छ ।

यसबाट बजार क्षेत्र त सफासुग्घर बनेको छ नै आफूलाई आवश्यक पर्ने उर्जाको स्रोत ग्यास समेत जोहो गरेका छन् ।

कृषि बजार उपज केन्द्रका अध्यक्ष लेखनाथ बस्यालका अनुसार बजारमा उत्पन्न भएका फोहोरहरुलाई व्यवस्थापन गर्नुपर्छ भन्ने उद्देश्यले स्थानीयद्वारा नै पचास घन मिटरको वायोग्यास निर्माण गरिएको हो ।

अहिले स्थानीयले उत्पादन गरेको वायो ग्यास बजारमा रहेको बधशाला, एवम होटलहरुमा ग्यासको रुपमा सप्लाई गरी फोहोरलाई सदुपयोग गर्दै आएको र यसले आवश्यकता अनुसार उर्जा पनि उत्पादन गरेको उनको भनाइ छ ।

वैकल्पिक उर्जा केन्द्र ललितपुरको पाँच लाख रुपैयाँ र कृषि बजार उपज केन्द्र कावासोतीको तीन लाख गरी कुल आठलाख रुपैयाँको लागतमा निर्माण गरिएको वायोग्यास प्रभावकारी भएपछि यसको प्रक्रियाको जानकारी लिन ठाउँ ठाउँबाट मानिसहरु आउने गरेका छन् ।

व्यवस्थापनमै हम्मेहम्मे परेको फोहोरलाई उचित तरिकाले व्यवस्थापन गर्दा सफाइसँगै आम्दानी भएको देखेर स्थानीय पनि दंग छन् ।

यसले प्रयोग गर्न जान्ने हो भने जुनसुकै चिजबाट पनि लाभ लिन सकिन्छ भन्ने उदाहरण समेत प्रस्तुत गरेको छ ।