काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार कटौती गर्ने गरी सरकारले विधेयक ल्याएको भन्दै विरोध गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि आज बसेको बैठकमा भएको सैद्धान्तिक छलफलमा भाग लिँदै सदस्यहरुले भ्रष्टाचार नियन्त्रण गर्न गठित आयोगको क्षेत्राधिकार कटौती गर्न लागेको भन्दै आलोचना गरेका हुन् ।
प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले भ्रष्टाचार नियन्त्रण गर्नु अघि अख्तियारलाई भ्रष्टाचार मुक्त बनाउन माग गरे ।
सांसद प्रमिला कुमारीले संघ र प्रदेश मन्त्रिपरिषद्को निर्णय अख्तियारले छानबिन गर्न नपाउने गरी विधेयकमा गरिएको व्यवस्थाप्रति आपत्ति जनाइन ।
ठूला भ्रष्टाचारमा पाँच वर्षे हदम्यादसहित राष्ट्रियसभामा दर्ता भएको विधेयक आजको बैठकले सैद्धान्तिक छलफल गरी समितिमा पठाउने निर्णय गरेको छ ।
अब सांसदहरुले विधेयकमाथि संशोधन दर्ता गर्न पाउनेछन् । यसैबीच, आज बसेको बैठकको विशेष समयमा बोल्दै सांसद बृषेशचन्द्र लालले नेपाल र चीन बीचको सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौताबारे सरकारको धारणा माग गरे ।
सरकारले गत असोज १७ गतेको निर्णय अनुसार असोज २६ मा नेपाल र चीन सरकारबीच सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।
बैठकको शून्य समयमा कांग्रेस सांसद राधेश्याम अधिकारीले आधारभूत स्वास्थ्य उपचार सेवा पाउने संवैधानिक हक कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद अधिकारीले दरबन्दी अनुसार विद्यालयमा शिक्षक अभावका कारण सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर दयनिय भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
सांसद रमेशजंग रायमाझीले कोरना भाइरस रोक्न सरकारले विशेष चासो दिनुपर्नेमा जोड दिए ।
सांसद विमला पौडेल राईले काठमाडौमा खोलिएका फिटनेस सेन्टरको मापदण्डप्रति प्रश्न उठाउँदै मापदण्ड निर्धारण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइन ।









प्रतिक्रिया दिनुहोस्