
काठमाडौं, माघ १९ । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) इन्डो प्यासेफिककै अंग भएको र यसलाई राम्ररी अध्ययन गर्न नेकपा नेता भीम रावलले यसका पक्षधरहरुलाई सल्लाह दिएका छन् ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा रावलले एमसीसी इन्डो प्यासेफिक रणनीतिको अंग होइन भन्दै प्रष्टीकरण दिइरहेका प्रधानमन्त्री केपी ओली र सरकारका मन्त्रीहरू समेतलाई इन्डो प्यासिफिक स्ट्राटेजीको प्रतिवेदनहरु राम्ररी अध्ययन गरेर मात्र बोल्न चुनौती दिएका हुन् ।
सांसद रावलले रिपोर्टमा स्पष्ट शब्दमा मिलिनियम च्यालेन्ज भनेको इन्डोप्यासेफिक स्ट्राटेजीको अंग भएको उल्लेख गरिएको जिकिर गरे ।
अमेरिकाले जारी गरेको इन्डो प्यासिफिक स्ट्राटेजी रिपोर्ट ४ नोभेम्बर २०१९, त्यसअघिको २०१७ र त्यसपछिका अरु सिरिज अध्ययन गर्न सुझाव दिँदै उनले इन्डो प्यासिफिक स्ट्राटेजी भनेको चीन, रुस र कोरियाको विरुद्धमा संघर्ष गर्न ल्याइएको हो जिकिर गरे ।
एमसीसीलाई कतिपयले प्रतिष्ठाको विषय बनाएकोमा आपत्ति जनाउँदै उनले राष्ट्रिय हित र स्वार्थलाई नत्याग्न आग्रह गरे । संसदीय समितिहरुले पनि एमसीसीबारे अध्ययन र छलफल गर्नुपर्ने उनको माग छ ।
नेकपा सांसद किराँतीले मागे सञ्चारमन्त्रीको राजीनामा
सोही समितिको बैठकमा नेकपाका सांसद सुदन किराँतीले एमसीसीबारे सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै राजीनामा मागेका छन् ।
एमसीसी जुनसुकै हालतमा पारित हुन्छ, अमेरिकाले चाह्यो भने एक घन्टामा सुलेमानी बनाइदिन्छ भन्ने अभिव्यक्ति आपत्तिजनक रहेको उनको भनाइ थियो ।
आत्मसमर्पणवादी अभिव्यक्ति दिने बाँस्कोटाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सांसद किराँतीको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्