२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


पुनर्निर्माण प्राधिकरणको जिम्मेदारी जोखिम न्यूनिकरण प्राधिकरणलाई हस्तान्तरण


91
Shares

काठमाडौं, पुष ८ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो कार्यभार विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्राधिकरणले आफ्नो कार्यभार हस्तान्तरण गरेको हो । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँडले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई नयाँ चुनौति थपिएको बताउनुभयो । उहाँले नेपाल जहिले पनि भूकम्पलगायत अन्य प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेकाले त्यसतर्फ सचेत भएर व्यवस्थापन गर्नुपर्ने बताउनु भयो । मन्त्री खाँडले अब पुनर्निर्माण प्राधिकरणले गरेको पुनर्निर्माणको अनुभवलाई लिएर व्यवस्थापन प्राधिकरणले देशको पुनर्निर्माणको क्षेत्रलाई उकास्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालको पुनर्निर्माण सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणले मुलुक दिगो विकास गर्नका लागि सबै प्रकारका जोखिमबाट सुरक्षित मुलुकको विकास गर्ने एउटा आधार निर्माण गरेको बताउनुभयो ।

यस्तै विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बितेको ६ वर्षमा हासिल गरेको उपलब्धिलाई कायम राख्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताउनुभयो । कार्यकारी प्रमुख पोखरेलले पुनर्निर्माण प्राधिकरणको एक समूहलाई नै संरचनामा ल्याएर काम अघि बढाउने बताउनुभयो । उहाँले निर्माण भएका भौतिक संरचना सदुपयोग गर्नु अबको चुनौति रहेको समेत बताउनुभयो ।