Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


खेवा लिम्बुहरुको इतिहास बोकेको स्तम्भ जीर्ण बन्दै, संरक्षणमा स्थानीय सरकारको छैन चासो


0
Shares

-प्रकाश लिम्बू/ ईमेज

तेह्रथुम । स्थानीय युवाहरुको सक्रियतामा निर्मित तेह्रथुमको छथर गाउँपालिका ६ सुदापमा रहेको ऐतिहासिक स्तम्भ जीर्ण बन्दै गएको छ ।

पूर्वी नेपालमा बसोबास गर्दै आएका खेवा लिम्बुहरुको इतिहाससँग जोडिएको यो स्तम्भको संरक्षणमा कार्यसमितिका साथै स्थानीय सरकारले समेत चासो देखाउन सकेको छैन ।

पर्यटन पवद्र्धन तथा संस्कृतिको संरक्षणका लागि तेह्रथुमको छथर गाउँपालिकामा निर्मित स्तम्भ जीर्ण बन्दै जाँदासमेत संरक्षणका लागि सरोकारवालाले चासो देखाउन सकेका छैनन् ।

स्थानीय तथा विभिन्न देशहरुमा गएका युवाहरुको आर्थिक सहयोगमा निर्माण गरिएको स्तम्भको संरक्षण तथा रेखदेखका लागि कार्यसमिति समेत बनाइएकोे थियो ।

तर स्तम्भ हरेक वर्ष जीर्ण बन्दै गएकाप्रति समिति र स्थानीय सरकारको चासो नरहेको तक्मीनाक्ला संरक्षण समितिका पूर्वअध्यक्ष महेन्द्र मादेनको भनाइ छ  ।

पर्यटन प्रवद्र्धनको नाउँमा स्थानीय सरकारले करोडौँ रकम खर्चिने गरेका छन् तर भएका संरचनाको संरक्षणमा चासो नदिँदा स्थानीयको गुनासो बढ्दै गइरहेको हो ।

छथरमै पहिलो पटक युवाहरुको पहलमा निमार्ण गरीएको उक्त स्तम्भको संरक्षण र प्रचार प्रसार गर्न नसक्दा अपेक्षित लाभबाट वञ्चित हुनुपरेको छ ।

यो स्तम्भसँग खेवा लिम्बुहरुको आफ्नै किम्बदन्ती जोडिएको स्तम्भ निमार्ण समितिका पूर्वसचिव कमान सिंह आंखेवा बताउँछन् ।

स्तम्भको संरक्षणका लागि स्थानीय सरकारले पनि केही पहल गर्न नसकेको छथर गाउँपालिका ६ का वडाध्यक्ष टेकराज लिम्बुको स्वीकारोक्ति छ ।

नेपाल भ्रमण बर्ष २०२० लाई सफल गराउन सम्भावित पर्यटकीय स्थलको पहिचान, संरक्षण र प्रचार प्रसार गर्न नसके लक्ष्य नभेटिने निश्चित छ ।