Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


दैनिक चार घण्टा हिडेर विद्यालय आउजाउ: सर्वसुलभ शिक्षा नारामा सिमित


0
Shares

-कविराज घिमिरे/ ईमेज 

धनकुटा । सरकारले माध्यमिक तहसम्मको शिक्षालाई निशुल्क, पहुँचयोग्य र सर्वसुलभ बनाउने भने पनि त्यसको व्यवहारिक कार्यान्वयन भने निराशाजनक छ ।

अझै पनि गाउँबस्तीका अधिकांश बालबालिकाहरु विद्यालय पुग्नका लागि घण्टौँको यात्रा तय गर्नुपर्ने बाध्यतामा छन् ।

धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर ७ सिङखोलाकी निर्मला राईलाई विद्यालय पुग्न करिब दुई घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता छ ।

सोही वडाको महाभारतस्थित गोलखाडी माविको कक्षा ९ मा अध्ययनरत निर्मलाको दैनिक ४ घण्टा समय बाटोमा बित्ने गर्दछ ।

उनीसँगै गाउँबाट ५० विद्यार्थी सोही विद्यालयमा पढ्न जाने गर्छन् । विद्यालय आउँदा जाँदा नै धेरै समय लाग्ने भएकाले विद्यालयमा बाहेक अन्य समयमा पढ्ने फुर्सद नहुने निर्मलाको गुनासो छ ।

करिब तीन सय विद्यार्थी रहेको सो विद्यालयमा आधाभन्दा बढी विद्यार्थी एक घण्टाभन्दा बढी हिडेर आउने गर्दछन् ।

टाढाबाट आउनुपर्दा विद्यार्थी ढिलो उपस्थित हुने र थकित देखिने भएकाले पठनपाठनमा समेत समस्या भइरहेको शिक्षक रोगुम बहादुर राईको भनाइ छ ।

यहाँको यस्तो जटिल अवस्था त एउटा प्रतिनिधि घटनामात्र हो । धनकुटाका अन्य स्थानसहित अन्य पहाडि तथा हिमाली जिल्लाका अधिकांश विद्यार्थीले भोग्नुपरेका यस्ता समस्या साझा हुन् ।

यता गुणस्तरीय शिक्षाका लागि बालमैत्री बिद्यालय राष्ट्रिय प्रारुप २०६७ ले तयार खाका अनुसार बालबालिकाको घर र विद्यालयको दुरी आधा घण्टाको हिड्ने दुरीमा हुनुपर्ने उ्रल्लेख गरेको छ ।

तर त्यसको कार्यान्वयन नहुँदा न त शिक्षाको गुणस्तर उकासिएको छ न विद्यार्थीलाई नै सास्ती हुन छाडेको छ । विद्यार्थीका यस्ता समस्यालाई  सरोकारवाला पक्षले मनन गर्ने कि ?