
काठमाडौं, माघ १८ । काठमाडौंको टुँडिखेल पहिलेकै स्वरुपमै खुला नभए मुक्तटुँडिखेल अभियन्ताहरुले आन्दोलन गर्ने चेतावनी भएका छन् ।
शनिबार टुँडिखेलमा पत्रकार सम्मेलन गर्दै उनीहरुले ऐतिहासिक महत्व बोकेको टुँडिखेललाई खुला राख्न आवश्यक पहल नभए आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् ।
ऐतिहासिक, राजनीतिक तथा दैवीप्रकोपको बेला सहरको आश्रय केन्द्रको रुपमा रहेको टुँडिखेल खुला राख्न उनीहरुले माग गरेका छन् ।
प्रयोजनअनुसार उपयोगमा जोड
अतिक्रमण टुँडिखेलको सौन्दर्यमाथिकै आक्रमण भएको उनीहरुको भनाइ थियो ।
पत्रकार सम्मेलनमा संस्कृतिविद् योगेश श्रेष्ठले जुन प्रयोजनका लागि टुँडिखेल निर्माण गरिएको हो, त्यस्तै हुनुपर्नेमा जोड दिए ।
उनले हाल निर्माण सामग्री, सवारी–साधनको पार्किङलगायत विभिन्न भौतिक संरचनाका कारण टुँडिखेल अतिक्रमित भएको भन्दै यसलाई पुनःजीवित गर्नुपर्ने बताए ।
मानवअधिकार उल्लंघन
नागरिक समाजका अगुवा कपिल श्रेष्ठले टुँडिखेल नेपालको शान र गौरव भएकाले यसलाई जोगाउनु सबैको दायित्व भएको बताए ।
उनले टुँडिखेल अतिक्रमणले गम्भीर मानवअधिकारको उल्लंघन भएकाले यसलाई तत्काल जोगाउन सरकारको ध्यानाकर्षण गरे ।
टुँडिखेल बचाऊ अभियन्ताहरुले संसदका विभिन्न समितिहरुमा टुँडिखेलको बढ्दो अतिक्रमणका विषयलाई गम्भीरतापूर्वक छलफल गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्