
चितवन, माघ १८ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले ‘कोरोनाभाइरस’को आशंका भएका बिरामीलाई अस्पतालबाहिर छुट्टै उपचार केन्द्र स्थापना गर्ने विषयमा सरकारले सोच बनाएको बताएका छन् ।
रासससँग कुराकानी गर्दै शनिबार उनले दुईदेखि १४ दिनसम्म यो भाइरसले अर्कालाई संक्रमण गराउनसक्ने भएकाले व्यारेकको जस्तो गरी उपचार केन्द्र स्थापना गर्ने सोच बनाइएको बताए ।
अस्पतालमा राखेर उपचार गर्दा बिरामीको चाप बढ्नसक्ने भन्दै मन्त्री ढकालले भने–‘१४/१५ दिनसम्म कयौं बिरामीलाई हामीले राख्यौं । तर, त्यो रोगी रहेनछ भने निगरानीमा राख्न पनि मिल्छ । अस्पतालमा बिरामीको चाप बढेर लामो समय राख्न कठिन हुन्छ ।’
उनले नयाँ व्यवस्थापन गरेर व्यारेक तरिकामा राख्नसक्ने भन्दै अहिले विभिन्न ठाउँमा रहेका तालिम केन्द्रलाई व्यवस्थित गरेर त्यस्ता उपचार केन्द्र स्थापना गर्न पनि सकिने बताए ।
ती स्थानमा खाने, बस्ने र उपचार उपलब्ध गराउने गरी व्यवस्थापन गराउन सकिने उनले जानकारी दिए । बिरामीको संख्याका आधारमा केन्द्र बनाइने उनले बताए ।
सरकारले अहिले १०० भन्दा बढी शय्याको विशेष उपचार (आइसोलेसन) कक्ष तयारी अवस्थामा राखेको उनले जानकारी दिए ।
२५ शय्याका दुई घुम्ती अस्पताल पनि रहेको मन्त्री ढकालको भनाइ थियो ।
रोगबाट बच्न सरकारले अपनाउनुपर्ने सावधानी सबै अपनाएको उल्लेख गर्दै उनले अन्तरर्राष्ट्रिय विमानस्थलमा सहयोगकक्ष राखेर जाँच गर्ने काम भइरहेको बताए ।
विश्व स्वास्थ्य संगठनको मापदन्ड, सुझाव र निर्देशनअनुसार अघि बढेको उनको भनाइ थियो ।
हालसम्म नेपालमा पाँचजना बिरामीलाई रोगको आशंका भएकाले परीक्षण गरिएकामा तीनजनामा ‘नेगेटिभ’ देखिएको र बाँकी दुईजनालाई निगरानीमा राखिएको मन्त्री ढकालको भनाइ थियो ।
चीनमा रहेका विद्यार्थीलाई फर्काउने विषयमा आवश्यक गृहकार्य अघि बढाइएको उनले जानकारी दिए ।
मन्त्री ढकालले सर्वसाधारण र उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी सबैलाई सावधानी अपनाउन आग्रह गरे ।
फरक प्रसंगमा उनले संघ मातहत रहेका अस्पतालमा विकास समिति गठनका लागि प्रक्रिया अघि बढेको बताए ।
स्तरोन्नति भएका अस्पतालमा प्राप्त स्रोत, साधन उपयोग गरी उपचारमा लाग्नुपर्नेमा उनले जोड दिए । रासस
प्रतिक्रिया दिनुहोस्