Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


एकै परिवारका ६ जना दाजुभाइ नेपाली सेनामा


0
Shares

नारायण न्यौपाने (रासस)

काठमाडौं, माघ १८ । गौरवमय इतिहास र परम्परा बोकेकोे नेपाली सेनामा एकै परिवारका ६ जना दाजुभाइ भर्ती भएको पाइएको छ ।

एकै परिवारका चारभन्दा बढी सन्तानलाई सेनामा प्रवेश गर्न प्रेरित गर्ने बाबु–आमालाई सम्मान गर्ने परिपाटी सुरु गरेसँगै यो तथ्यांक जानकारीमा आएको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले दाङको घोराहीमा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा पाँच सैनिकका बाबु रोल्पा, थवाङ–३ का ७० वर्षीय कर्णसिंह पुनलाई सम्मान गरी उक्त कार्यको सुरुआत गरे ।

भक्तबहादुर, प्रदीप, राजकुमार, नरजित र लालमुनी पुनका पिता कर्णसिंहलाई सम्मेलनमा रु १० हजार नगद र कदरपत्र प्रदान गरियो ।

सैनिक कल्याणकारी निर्देशनालयकाअनुसार सेनाले यस वर्ष एकै घरका चारभन्दा बढी सन्तान सेनामा हुने १५ जना अभिभावकलाई भूतपूर्व सैनिक सम्मेलनमा सम्मान गर्ने कार्यक्रम राखेको छ ।

प्रत्येक प्रधानसेनापतिको कार्यकालमा हुने भूतपूर्व सैनिक सम्मेलनमा चारभन्दा बढी सन्तान सैनिक सेवामा कार्यरतका अभिभावकलाई सम्मानस्वरुप रु १० हजार र कदरपत्र प्रदान गरिनेछ ।

सेनामा चार/चारजना छोरा भर्ती भएका तेजबहादुर रावल, अनुरुपा बुढा र खड्गबहादुर वली सुर्खेतमा आयोजित भूपूसैनिक सम्मेलनमा सेनाबाट सम्मानित भए ।

अटल विश्वास

उनीहरुलाई प्रदान गरिएको कदरपत्रमा लेखिएको छ–‘नेपाली सेनामार्फत् राष्ट्र र नागरिक सुरक्षा, राष्ट्र निर्माण, प्रकृति संरक्षण, विपद् व्यवस्थापन, विश्व शान्तिजस्ता विशिष्ट सेवामा समर्पित हुन आफ्ना सन्तानलाई प्रेरणा प्रदान गरी सेनाप्रतिको अटल विश्वास, आस्था र सद्भावका लागि पुर्‍याएको योगदानको उच्च मूल्यांकन गरिएको छ ।’

पाँच सैनिककी आमा वीरेन्द्र नगरपालिकाका कलादेवी सिँजापतिलाई पनि प्रधानसेनापतिले सोही समारोहमा नगद पुरस्कार र कदरपत्र प्रदान गरे ।

मुलुकमा भूतपूर्व सैनिक र एकल महिलाको संख्या करिब ७० हजार छ ।

सम्मेलनका क्रममा तत्क्षेत्रमा तैनाथ सैनिक गणद्वारा प्रस्तुत हुने झाँकीसहितको गीत–संगीत र नृत्य मौलिक कला र संस्कृतिको प्रवर्द्धनमा योगदान पुग्दै आएको छ ।

तेघरी व्यारेक धनगढीमा आयोजना हुने सम्मेलनमा चार/चारजना सन्तान सैनिक सेवामा रहने अभिभावक हरिसिंह रावत (बैतडी), दत्तराम ओड (डडेल्धुरा), हरिनादेवी भण्डारी (बैतडी), धर्मादेवी ऐर (डडेल्धुरा), ममतादेवी चैसिर (दार्चुला) र रवीलाल पौडेल (बर्दिया)लाई सेनाले सम्मान गर्दैछ ।

६ सैनिकका माता–पिता

डोटी, भूमिराजमाडौं–९ का प्रेमराज र बासुली जैसीका पाँच छोरा र एक छोरी नेपाली सेनामा कार्यरत् छन् ।

जैसीदम्पतीका छोरा टीकाराम, धर्मराज, छविलाल, भोजराज र हरिश तथा छोरी सरिताकुमारीले सेनाको संगठनमा रही देशको सेवा गरेका छन् ।

इमामनगर व्यारेक नेपालगन्जमा हुने कार्यक्रममा चार सैनिकका पिता बर्दिया, बाँसगढी नपा–८ का रविलाल पौडेल पनि नेपाली सेनाबाट सम्मानित हुनेछन् ।

सम्मेलनका क्रममा भूपूसैनिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर, सहभागीलाई दैनिक भ्रमणभत्ता, लघुवित्त कार्यक्रमका उत्कृष्ट व्यवसायीलाई पुरस्कार, नयाँ उद्यमीलाई सहुलियत ब्याजदरमा कर्जा, ज्येष्ठ भूपू र एकल महिलालाई सम्मान तथा अशक्तलाई ह्वीलचियर प्रदान गरिँदै आएको छ ।

नवलपरासीकी ७३ वर्षीया चुमादेवी जिसीका छोरा तिलक, चित्र, रामचन्द्र, रामबहादुर, राजेन्द्र र प्रवीणले सैनिक सेवाबाटै राष्ट्र र जनताको सेवा पुर्‍याए । उनीहरुकी आमा चुमादेवीलाई सेनाले फागुन १४ गते बुटवलमा आयोजना हुने सम्मेलनमा सम्मान प्रदान गर्ने कार्यक्रम छ ।

पाल्पा, तिनाउ–६ का ८५ वर्षीय कुलबहादुर सारुका चारजना छोरा पनि सैनिक सेवामै छन् ।

‘चट्टानझैं दृढ, माहुरीझैं गोलबद्ध’

सम्मेलनका क्रममा प्रधानसेनापति थापाले गौरवशाली इतिहास र परम्परा बोकेको नेपाली सेनामा प्रवेशका लागि सन्तानलाई अभिप्रेरित गर्न भूतपूर्व सैनिकलाई आह्वान गरे ।

सम्मेलनमा सैनिकले नेतृत्वसँग आफूलाई परेको पीर–मर्का सुनाउने र नेतृत्वले त्यसलाई सम्बोधन गर्ने प्रयास हुँदै आएको छ ।

भूतपूर्व सैनिक सम्मेलन यस वर्ष अब धनगढी, बुटवल, नेपालगन्ज, तनहुँ (खैरेनीटार) र पोखरामा हुँदैछ । दाङ र सुर्खेतमा भने यही माघ १२ र १३ गते सम्पन्न भइसकेको छ ।

नेपाली सेनाले भूतपूर्व सैनिक सम्मेलनका क्रममा प्राप्त सुझावका आधारमा बहालवाला तथा भूपूका लागि शिक्षा, स्वास्थ्य, स्वरोजगार र सीपमूलक कार्यक्रम विस्तार गर्दै आएको छ ।

भूपूसैनिकलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले भने–‘हामी सबैलाई सदा चट्टानझैं दृढ, माहुरीझैं गोलबद्ध र एकीकृत रहन प्रेरणा मिलोस् ।’