२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


गोरखामा दूध बेच्न हिँडेकी मनमायालाई किच्यो टिपरले, घटनास्थलमै मृत्यु


0
Shares

गोरखा,  माघ १७ । गोरखामा क्रसर बोक्ने टिपरले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ ।

दूध बेच्न नजिकैको छेपेटार बजार जाँदै गरेकी गोरखा नगरपालिका वडा नम्बर १० अमलापानीकी ५२ वर्षीय मनमाया तामाङलाई क्रसरको टिपरले शुक्रबार बिहानै ठक्कर दिएको हो ।

बाक्लो कुहिरो लागेको समयमा सडक किनारामा हिंड्दै गरेकी मनमायाको टिपरको ठक्करबाट मृत्यु भएपछि स्थानीयले केही टिपरमा आगजनी र तोडफोड गरेका छन् ।

गोरखकाली क्रसरको ढुंगा गिट्टी बोक्ने ग१ख ८०२७ नम्बरको टिपरले उनलाई किचेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

घटनास्थलमा प्रहरी परिचालन गरिए पनि आक्रोशित स्थानीय बासिन्दाले २० भन्दा बढी टिपर र छ वटा एक्साभेटरका सिसा फुटाइदिएका छन् ।

ठक्कर दिने टिपरको चालकलाई नियन्त्रणमा लिइएको पनि प्रहरीले जनाएको छ । स्थानीयले क्रसर उद्योग बन्द नगरेसम्म शव नउठाउने बताएका छन् ।