प्रमुख दलका शीर्ष नेताहरूमाथि पुस्तान्तरण र रुपान्तरणको दवाव « Imagekhabar – Online News Portal of Nepal


प्रमुख दलका शीर्ष नेताहरूमाथि पुस्तान्तरण र रुपान्तरणको दवाव


208
Shares

खिलनाथ ताजपुरिया
काठमाडौं । पूर्वपञ्चहरूको वर्चस्व रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेतृत्वमा अनपेक्षित पात्र राजेन्द्र लिङ्देनले खाता खोलेपछि युवा नेतृत्वको अपरिहार्यको दवाव अरु पार्टीमा पर्न थाल्यो । कमल थापाजस्तो बजीर पात्र विस्थापित हुनु राप्रपाको इतिहासमै उल्लेख्य क्रान्ति थियो ।

राप्रपाभन्दा केहीदिनअघि सम्पन्न प्रमुख प्रतिपक्षी महाधिवेशन निर्देशित र नियन्त्रित रहेको टिप्पणी हुने गरेको छ । अध्यक्ष केपी ओली उहाँका अनुकूल नेतालाई स्थापित प्रपञ्चसहित सम्पन्न महाधिवेशनमार्फत थुप्रै युवापुस्ता केन्द्रीय राजनीतिमा आए प्नि तिनीहरूको निर्णायक प्रभाव देखिँदैन ।

यद्यपि एमाले नेतृत्व राजनीतिमा युवा सशक्तिकरणको जश आफू लिन चाहन्छ । राप्रपा र कांग्रेसको नेतृत्वमा उदाएको युवापुस्ताप्रति आफ्नो कुनै फरक दृष्टिकोण नरहेको एमाले महासचिव शंकर पोखरेल बताउनुहुन्छ ।

आठौं र नवौं महाधिवेशनमा एमालेमा युवा पुस्ताले पदाधिकारी स्थान बनाएकाले पुस्तान्तरणमा आफ्नो पार्टी पहिलो भएको र अन्य पार्टीले त्यसलाई पछ्याएको उहाँको टिप्पणी छ ।

तीनदशकदेखि पार्टी नेतृत्वमा रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका लागि मूलधारका तीन दलको महाधिवेशन महंगो सावित हुने लक्षण छ । सहमतिका नाममा विद्यार्थी संगठन र पत्रकारको संस्थामा समेत प्रचण्डपथको डण्डा चलेपछि त्यहाँभित्र असन्तुष्टि भुसको आगो बन्दै गएको छ ।

नेताविरुद्ध सिधै बोल्न नसके पनि सामाजिक सञ्जालमार्फत उनीहरूले आक्रोस जनाउन थालेका छन् । युवाहरूको जगमा टेकेर युद्ध चलाएको माओवादीका लागि युवा आकांक्षा अझ महंगो पर्ने देखिन्छ ।

महाधिवेशन म्युजिकल चेयर खेलजस्तो मात्र हैन । यसले विचार र नेतृत्वलाई सँगै लिएर जानुपर्छ । कार्यकर्ता बटुलेर अविरजात्रा गर्ने परम्पराबाट थोरै हटेर समयको चाल बुझेर नेतृत्व र विचारको संयोजन गर्न सके सुनमा सुगन्ध हुने थियो ।