नरेन्द्र मानन्धर
काठमाडौं । नेवारलाई राष्ट्रियता बोकेको समुदायका रूपमा गौरव गरिन्छ । विभिन्न रक्त र जातको संयुक्त मिश्रण यो भाषिक समुदायमध्ये उदाय् समुदाय पनि एक हो ।
पेशा र व्यवसायको आधारमा यो समुदायको पनि नौ वटा थर रहेको छ । युवापुस्ता परम्परागत बिँडो थाम्ने चलन कम हँुदै गइरहेको स्थितिमा भावी पुस्तालाई आफनो पितापुर्खाको गौरव जानकारी दिन संग्रहालय नै सञ्चालनमा ल्याइएको छ ।
असन, नेपाल मण्डलको एक प्राचिन बजार । काठमाडौंको मध्यभागमा रहेको यो बजारले आफनो पुरानो मौलिकता गुमाए पनि आर्थिक कारोबारको केन्द्रका रूपमा बजारको विशिष्टता कायमै छ । अहिले पनि यहाँ हिङदेखि हर्दीसम्म पाइन्छ ।
प्राचिनकालमा तिब्बत र भारतको व्यापारिक केन्द्र रहेको यो बजारमा धेरै जसो तिब्बतमा व्यापार व्यवसाय गर्ने नेवारहरू रहेका छन् । यसमा उदाय् समुदाय पनि एक हो । यो समुदायमा पनि पेशाका आधारमा नौ वटा थर रहेका छन् ।
व्यापार गर्ने असन र नरदेवीका तुलाधर, काठको काम गर्ने स्थापित, तामाको काम गर्ने ताम्राकार, काँसको काम गर्ने कंशाकार, मन्दिरमा गजुर हाल्ने र चित्र बनाउने सिखराकार, औषधि बनाउने बनियाँ, देवदेवीको लुगा बनाउने सिन्दुराकार, शिलाकला बनाउने शिलाकार र मिठाई बनाउने शिलालिक हुन् ।
बौद्ध, शैव, शाक्त लगागतका धर्ममा समभाव राख्ने यो समुदायको भाषा नेपाल भाषा हो । जीवित देवीकुमारी जस्तै कुमारको पनि पूजा र नाचसमेत रहेको छ । ‘कुम्हो प्याखँ’ भनिने यो नाच हाल लोप भइसकेको छ ।
यस समुदायका पनि युवा पुस्ता परम्परागत पेशाबाट विमुख भएका छन् । तसर्थ भावी पुस्तालाई आफनो पेशा, कला संस्कृति र रहनसहनको जानकारी दिने उदेश्यले ‘उदाय् म्युजियम’ समेत सञ्चालनमा आएको हो ।
असनमा सञ्चालित संग्रहालयमा उदाय् समुदायको विभिन्न पक्ष झल्कने पुरातात्विक र ऐतिहासिक महत्वका सामाग्री र सरसामान राखिएको छ । भविष्यमा अन्तराष्ट्रिय स्तरको संग्रहालय बनाउने तयारी भइरहेको म्यूजियमका संयोजक सुमन कमल तुलाधर बताउनुहुन्छ ।
आफ्नो पुर्खाको गौरवमय इतिहास स–सम्मान भावी पुस्तालाई सुरक्षित राख्ने समुदायको प्रयास सरहानीय छ । अन्य समुदायले पनि यस्ता सत्कर्मको सिको गर्नु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्