काठमाडौं, माघ १५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोरोनाभाइरस’को उपचारका लागि छुट्याइएका पाँचओटा अस्पतालमा निगरानी सुरु गराउने जनाएको छ ।
बुधबार मन्त्रालयले काठमाडौंमा पत्रकार सम्मेलन गरी अस्पतालहरुको निगरानीका लागि डा. गुणराज लोहनीको नेतृत्वमा अनुगमन टोली गठन गर्न लागेको जनाएको हो ।
मन्त्रालयका प्रवक्ता डा. महेन्द्र श्रेष्ठले शुक्रराज ट्रपिकल तथा सरुवा रोग, त्रिवि शिक्षण अस्पताल, पाटन, वीर, भक्तपुर र सैनिक अस्पताललाई कोरोनाभाइरसको उपचार गराउने ‘हब’ अस्पतालको रुपमा छुट्याइएको जानकारी दिए ।
उनले काठमाडौंका अरु १३ ओटा अस्पताललाईसमेत उपचारका लागि छुट्याइएको बताए ।
लक्षण दुईदेखि १० दिनभित्र देखिसक्ने
सामान्य रुघाखोकी लाग्दैमा डराउनु नपर्ने भन्दै प्रवक्ता श्रेष्ठले कोरोनाभाइरस परीक्षणका लागि बुधबार एकजना बिरामी पनि अस्पताल भर्ना नभएको जानकारी दिए ।
कोरोनाभाइरसको लक्षण दुईदेखि १० दिनभित्र देखिसक्ने भन्दै मन्त्रालयले चीनबाट फर्किएका मानिसहरुलाई बढी निगरानीमा राखिने जनाएको छ ।
मन्त्रालयले रसुवा र तातोपानी नाकामा रहेका ‘हेल्थ डेस्क’लाई बढी सक्रिय बनाउने भन्दै ती स्थानमा पनि अनुगमन टोली पढाउने जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्