Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


थेरवाद बौद्ध संग्रहालयमा के छ ?


0
Shares

नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज)

लुम्बिनी, माघ १५ । भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा पहिलोपटक नेपाल थेरवाद बौद्ध संग्रहालय स्थापना गरिएको छ ।

लुम्बिनीस्थित धर्मोदयसभा, स्वयम्भू महाचैत्यमा संग्रहालय स्थापना गरिएको हो ।

गएको आइतबार प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले संग्रहालय उद्घाटन गरेका थिए ।

थेरवाद बौद्ध परम्परामा संस्थागत प्रतिनिधित्व गर्ने उद्देश्यले अखिल नेपाल भिक्षु महासंघ, अन्तर्राष्ट्रिय भिक्षुणी संघ र थेरवाद बुद्धिष्ट एकेडेमीको सहकार्यमा बौद्ध महिला संघ नेपालको सक्रियतामा यो संग्रहालय स्थापना भएको हो ।

हाल १२ ओटा ‘ग्यालरी’हरु रहेको संग्रहालयमा थेरवाद बुद्धधर्मसँग सम्बन्धित पुरातात्विक महत्वका प्राचीन अभिलेख, थेरवाद पुनःजागरणकालका भिक्षुहरुका सामग्री, चित्र, मूर्ति तथा साहित्यहरु संकलन गरिएको छ ।

संग्रहालय निर्माण समितिका संयोजक डा. केशरीलक्ष्मी मानन्धरले बुद्ध शासनको चिर स्थायित्वका लागि संग्रहालय स्थापना गरेको भन्दै यसबाट थेरवादको अध्ययन, अनुसन्धानमा सहयोग पुग्ने बताइन् ।

हुन त कपिलवस्तु, रामग्राम, देवदहलगायत बृहत् लुम्बिनी क्षेत्र आफैंमा खुला संग्रहालय हो । तर पनि यसको स्थापनाले बुद्धसँग सम्बन्धित पुरातात्विक र ऐतिहासिक वस्तुहरुको संग्रहमा एउटा आयाम थपिने विश्वास लिइएको छ ।

बौद्ध भिक्षु बोधिज्ञान महास्थविर संग्रहालय स्थापनाले अनुसन्धानमा थप अवसर मिल्ने बताउँछन् ।

लुम्बिनी क्षेत्रमा बुद्धको समयभन्दा पनि पुरानो संरचना पाएको वैज्ञानिक पुष्टि भइसकेको छ ।

किताबको खुला पानाजस्तै यस क्षेत्रमा उत्खनन्का क्रममा एकपछि अर्को नयाँ तथ्यहरु उजागर हुनेक्रम पनि जारी छ ।

तसर्थ पनि संग्रहालय महत्वपूर्ण भएको संग्रहालयका परिकल्पनाकार जलकृष्ण श्रेष्ठको भनाइ छ ।

बौद्ध साहित्य, कला, इतिहास र संस्कृतिको निरन्तरताका लागि पनि यो महत्वपूर्ण छ ।

संघका उपाध्यक्ष मीरा ज्योतिले संग्रहालयलाई अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने बताइन् ।

भिडियो हेर्नुहोस्